अर्थ/बजारबुधबार, १५ फाल्गुण , २०७५

टेलिया फेरी नेपाल छिर्दै, सिजी टेलिकमसँग समझदारी

विनय बञ्जारा

एनसेलको कर विवादलाई थाँती राखेर बाहिरिएको नर्डिक कम्पनी टेलिया फेरी नेपाल फर्कने भएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकममार्फत् टेलिया नेपाल छिर्न लागेको हो ।

टेलियाको सबैभन्दा बढी स्वामित्व भएको टर्किस दूरसञ्चार कम्पनी टर्कसेल र सिजी कम्युनिकेसन्सबीच १४ फागुनमा भएको समझदारीअनुसार यी दुई कम्पनी नेपालमा डिजिटल सेवा विस्तार गर्न सहमत भएका छन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाललगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

टर्कसेल टर्कीको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी हो । यो कम्पनीमा टेलियाको अप्रत्यक्ष लगानी छ । गत वर्ष अर्थात् २६ अप्रिल २०१८ मा टेलियाले टर्कसेलको सम्बन्धमा श्वेतपत्र जारी गरेर त्यहाँको शेयर स्वामित्व, संस्थागत सुशासनमा देखिएका समस्या र लगानीबारे स्पष्ट पारेको थियो ।

उक्त श्वेतपत्रमा टर्कसेलमा टेलियाको २४ प्रतिशत स्वामित्व रहेको उल्लेख छ । क्युकोरोभा फाइनान्स इन्टरनेशनलसँग १३.८ प्रतिशत र लेटरवान कम्पनीसँग १३.२ प्रतिशत स्वामित्व रहेको उल्लेख छ । बाँकी ४९ प्रतिशत स्वामित्व भने स्तानबूल स्टक एक्सचेञ्ज र न्यूयोर्क स्टक एक्सचेञ्जमार्फत् सर्वसाधारणलाई शेयर विक्री गरिएको देखिन्छ ।

टेलियाकै सबैभन्दा ठूलो स्वामित्व भएको टर्कसेलले सीजीसँग मिलेर नेपालमा ‘सिजी लाइफसेल’ ब्राण्डमा दूरसञ्चार तथा डिजिटल सेवा प्रदान गर्ने बताइएको छ । तर, अहिले चौधरी ग्रुपसँग पूर्वाञ्चल क्षेत्रका १६ जिल्लामा दूरसञ्चार सेवा पुर्‍याउने एकमात्र लाइसेन्स छ ।

२०६० मंसीरमा लाइसेन्स पाएपछि पनि सीजी कम्युनिकेसन्सले त्यसको पुर्वाधार तयार गर्ने र सेवा सञ्चालन गर्न सकेको छैन ।

कम्पनीले मोबाइल सेवा प्रदान गर्न आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स आवेदन दिए पनि नियामक दूरसञ्चार प्राधिकरणको बोर्डमा विचाराधिन रहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

“बहुमत बोर्ड सदस्य र विभागीय मन्त्रीसमेतको उपस्थितिमा समझदारी हुनुको केही अर्थ हुनसक्छ,” ती अधिकारीले भने । प्राधिकरणका अधिकारीहरुका अनुसार नयाँ लाइसेन्स लिएपछिमात्रै यो सहकार्यले सार्थकता पाउने छ ।

प्रतिकृया दिनुहोस