रुबिनाको ह्याट्रिक, नेपालसँग कुवेत पराजित
कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक र करुणा कुँवरले महत्वपूर्ण तीन विकेट लिएपछि नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ ।
जितसँगै नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटको सम्भावना जिवितै राखेको छ । तर, यसका लागि आयोजक थाइल्याण्ड र यूएईको जारी खेलको नतिजा कुनुपर्नेछ । यूएईसँग थाइल्याण्ड पराजित भएमा भने परिणाम रन रेट निर्णायक हुनेछ ।
अंकतालिकाको पूछारमा रहेको कुवेतलाई फराकिलो रनरेटले पराजित गर्ने अवसरबाट भने नेपाल चुँक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन बनाएको थियो ।
नेपालको ब्याटिङमा मध्यक्रमकी ब्याट्सवुमन बिन्दु रावतले सर्वाधिक २८ र कप्तान क्षेत्रीले २२ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
कुवेतको पहिलो विकेट २३ रन झरे पनि कप्तान मरयाम ओमर र अर्की ओपनर प्रियदा मुरलीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपाललाई निराश बनाएका थिए । तर, १४ ओभरमा बलिङका लागि आएकी करुणा कुँवरले पहिलो, दोस्रो र तेस्रो बलमा क्रमशः रनआउट, स्टम्पिङ र क्याचआउट गराएपछि खेलमा नेपालका आशा बढेको थियो ।
अन्तिम ओभरका अन्तिम तीन बलमा कप्तान रुबिनाले बाँकी ब्याट्सवुमनलाई बोल्ड गरिन् । र, नेपालले जित हासिल गर्यो ।
पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । कुवेतसँगको जितसँगै नेपाल दोस्रो छ भने एक खेल कम खेलेको युएई तेस्रो स्थानमा छ ।
छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।