अन्तर्वार्ता/विचारमंगलबार, १४ फाल्गुण , २०७५

‘मुख्य काम महिला उद्धार’

हिमालखबर

नेपाल–ओमान दौत्य सम्बन्ध स्थापना भएको ४२ वर्ष पुग्यो । त्यससता ओमानमा करीब २० हजार नेपाली पुगिसकेका छन् । तर, दुई देशबीच श्रम सम्झौता भने भएको छैन । अहिले दुवै देशका अधिकारीहरू श्रम सम्झौताको मस्यौदा तयार पार्न जुटेका छन् । यसै सिलसिलामा छलफल गर्न गएको साता ओमानका लागि पहिलो नेपाली राजदूत शर्मिला पराजुली ढकाल स्वदेश आएकी थिइन् । उनीसँग गरिएको छोटो कुराकानी:

ओमानमा नेपाली कामदारको अवस्था कस्तो छ ?
खासगरी निर्माण क्षेत्रका कामदारहरूले चर्को तापक्रममा काम गरिरहेका छन् । सुतेको सुत्यै मर्ने जस्ता समस्या पनि छन् । स्थानीय डाक्टरहरू परिचालन गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं ।

ओमानमा महिला कामदार धेरै भएकाले स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिरहेका छौं । दूतावासले कामदारसँग नियमित अन्तरक्रिया मार्फत समस्या सुन्ने प्रणाली विकास गरेको छ ।

कामदारको सेवा र सुविधा चाहिं कस्तो छ ?
ओमानमा नेपालीको न्यूनतम मासिक तलब १२० ओमान रियाल (ने.रु.३५,४२०) तोकिएको छ । अधिकांशले यो तलब पाएका छन् । केही समयअघि तेलको मूल्यमा आएको परिवर्तनका कारण समयमा तलब नपाउने समस्या पनि देखिएको थियो । तर, अहिले यस्तो समस्या छैन ।

धेरै महिला बेचबिखनमा परेर ओमान पुगेको सुनिन्छ, कसरी यस्तो भइरहेको छ ?
यो सत्य हो । अहिले त दूतावासको प्रमुख काम नै यस्ता महिलाकोे उद्धार गर्नुमा केन्द्रित छ । भारतसँगको खुला सिमानाका कारण अवैध बाटोबाट महिला आउने क्रम जारी छ । यसको अर्थ के हो भने सरकार र महिला बेचबिखन विरुद्ध काम गर्ने संस्थाहरू प्रभावकारी बन्न सकेका छैनन् । सीमामै कडा निगरानी गर्नुपर्छ । कानूनी तगारो झेल्दै किन महिला विदेशिन बाध्य छन् भन्नेबारे सूक्ष्म अध्ययन गर्नुपर्छ ।

गाउँगाउँमा अवसर सिर्जना गरेर श्रमलाई सम्मान गर्ने प्रणालीको विकास गरिनुपर्छ । मुलुकभित्रै सम्मानका साथ बाँच्न नसक्दा एकल महिलाहरू जबरजस्ती विदेशिएका छन् । उनीहरूलाई समाजमै इज्जतसाथ बस्न दिइनुपर्छ । मलाई लाग्छ, गरीब र अशिक्षित महिलाहरूलाई बेचबिखन गर्ने काममा संगठित गिरोह नै लागेको छ ।

यस्ता महिलाको उद्धारमा कत्तिको कठिनाइ बेहोर्नु परिरहेको छ ?
यस्ताहरू महिला दलालले इराक, दुबई लगायतका मुलुक लैजाने भनेर ओमान ल्याएर छाडेको बताउँछन् । न उनीहरूबारे सरकारसँग कुनै आधिकारिक कागजात हुन्छ; न उनीहरूसँग नै । एक हिसाबले यस्ता महिलाहरू ‘अनडकुमेन्टेड’ हुन्छन् । त्यसैले पनि उनीहरूलाई उद्धार गरेर नेपाल पठाउन कठिन भइरहेको छ ।

– रामु सापकोटा

प्रतिकृया दिनुहोस