ब्लगमंगलबार, १४ फाल्गुण , २०७५

‘खुम्बु वाटरफल’

कनकमणि दीक्षित

विश्व अब ‘एन्थ्रोपोसिन युग’ मा प्रवेश गरिसकेको छ, र एक दशक अघिसम्म पनि असम्भव र अकल्पनीय लाग्ने प्रक्रिया यथार्थ भई देखा पर्दैछन् ।

मेरा दाइ कुन्द दीक्षितले सेप्टेम्बर–अक्टोबर १९९१ मा प्रकाशित अंग्रेजी हिमाल कोे हास्य स्तम्भ ‘एबोमिनब्ली योर्स’ मा वातावरण परिवर्तनले ल्याउन सक्ने अकल्पनीय परिणाम भन्दै आफैंद्वारा कोरिएको एउटा कार्टुन चित्र प्रस्तुत गरेका थिए ।

त्यो चित्रको शीर्षक थियो, ‘खुम्बु वाटरफल’ अर्थात् खुम्बु छाँगो । सगरमाथा आरोहीले प्रख्यात बनाएको ‘खुम्बु आइसफल’ को सम्भाव्य (तर अकल्पनीय) दशा दर्शाउने ध्येय थियो लेखक–कार्टुनिस्टको ।

जब हिम पर्वतको हिउँ–बरफ बेसीतिर झर्छ, हिमनदी अर्थात् ‘ग्लेसर’ मा परिणत हुन्छ । तर त्यो हिमनदी जब कुनै पहाडी खुट्किलाबाट एक्कासी झर्छ, त्यो स्थिति र ठाउँलाई ‘आइसफल’ भनिन्छ ।

सगरमाथा–चोमोलोङ्मा–एभरेष्ट चुचुरोको दक्षिणी मोहडामा तीनतिरको पहाड (ल्होत्से, नुप्से, चोमोलोङ्मा) को बीचमा एउटा उच्च उपत्यका छ, जसलाई ‘वेस्टर्न कुम्’ भनिन्छ ।

यो उपत्यकामा उत्पन्न हिमनदी पश्चिमतिर ओरालो लाग्दै नुप्सेको छेउमा पुगेर एउटा साँघुरो खोंचमा छिर्छ र त्यहाँबाट चर्कंदै, फुट्दै बेसक्याम्पतिर झर्छ । यही हो खुम्बु आइसफल, जसलाई पार गर्नु सगरमाथा आरोहीहरूले पूरै आरोहणको सबैभन्दा जोखिम भाग ठान्दछन् ।

स्केचः कुन्द दीक्षित । HIMAL Magazine Sep/Oct 1991

मेरा दाइले पर्वतारोहीमाझ चिरपरिचित यो खुम्बु आइसफललाई बिम्ब बनाएर पाठकहरुलाई ‘ग्लोबल वार्मिङ’ बारे सचेत गराउन चाहन्थे । तर २८ वर्षअघि दाइले त्यो चित्र कोरिरहँदा उनलाई कदापि लागेको थिएन त्यो भविष्यवाणी जस्तो हुनपुग्ला ।

चित्रमा सगरमाथा, नुप्से र ल्होत्सेको छेउछाउमा सल्लाको जंगल चढ्दै गएको देखिन्छ । हिउँशून्य हिमशिखरहरूमा काला चट्टान मात्र देखिन्छन् । अनि खुम्बु आइसफलको ठाउँबाट पानीको छाँगो झरिरहेको छ — ‘खुम्बु वाटरफल’ ।

सन् १९७८ मा दाइ र म सँगै खुम्बु क्षेत्रको पदयात्रामा हिंडेथ्यौं । त्यसपछि आजको दुई महीनाअघि मात्र उनी त्यहाँ पुगे । उनले हेलिकप्टरमा बसी उपल्लो खुम्बुको अवलोकन गरे — नाम्चेदेखि तेङ्बोचे, फेरिचे, लोबुचे, बेसक्याम्प र कालापत्थरसम्म ।

चार दशकको अन्तरालमा दाइले देखे कत्रो भयावह परिवर्तन भएको रहेछ — खुम्बु क्षेत्रका हिमनदीहरू पछि सरेका, जताततै बरफको ठाउँमा चट्टान र हिउँका मैदानको ठाउँमा खर्कै खर्क ।

हामी नेपालीले आफ्नै आँखाले हाम्रो भूभाग र वातावरणमा कहालीलाग्दो परिवर्तन देखिरहेछौं जो लाखौं वर्षसम्म उस्तै, अपरिवर्तनीय रह्यो । मानव जातिको हस्तक्षेपबाट विश्व वातावरण नै खल्बलिने यो युगलाई ‘एन्थ्रोपोसिन’ समय भनिन्छ । हामीभन्दा अघिका हजारौं पुस्ताले गर्न नसकेको कृत्य गएको ५० वर्षमा हाम्रो समयमा हुन गयो । हामी प्राकृतिक सम्पदालाई ध्वस्त पार्दैछौं, सच्याउनै नसकिने गरी ।

यो मानव हस्तक्षेपको परिणाम सन् १९९१ मा अलि अलि देखिन थालेको थियो, जतिबेला कुन्द दीक्षितले यो चित्र कोरे । तर आजसम्म आइपुग्दा हामी कुन बाटो हिंडिरहेका छौं प्रष्ट भएको छ । अझै पनि हाम्रो ‘खुम्बु आइसफल’ लाई ‘वाटरफल’ भन्नुपर्ने अवस्था आएको त छैन, तर अब भने यो ठट्टा मात्रको कुरा रहेन ।

प्रतिकृया दिनुहोस