सांसद तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी आन्दोलन
सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।
अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा ७ मंसिरमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
बैठकको निर्णयअनुसार ८ मंसिर दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । त्यस्तै सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ । हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहेकाले फर्किए पछि ज्ञापनपत्र बुझाइने बताइएको छ ।
नेवि सङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याका बीच सांसदहरुको तलब बढाएर सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताए ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयमा पुनःविचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । त्यसैगरी, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गरे ।
‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । योसँगै हरेक सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु एक लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन् । रासस