भरतपुरमा घरघरमा राजस्व संकलन टोली परिचालन
राजस्व सम्बन्धी जनचेतना जगाउन र व्यवसायीलाई स्वतःस्फूर्त कर तिर्ने वातावरण बनाउन चितवनको भरतपुर महानगरपालिकाले राजस्व संकलन टोली परिचालन गरेको छ ।
महानगरपालिकाले व्यवसाय तथा वहालकर उठाउन र कर सम्बन्धी जानकारी उपलब्ध गराउन आजदेखि टोली परिचालन गरेको हो ।
चालु आर्थिक वर्षमा रु ५५ करोड ४८ लाख ६२ हजार राजश्व संकलनको लक्ष्य राखेको महानगरपालिकाले आजसम्म ३० करोड ५१ लाख ५९ हजार ५९४ रुपैयाँ राजस्व संकलन गरिसकेको छ । लक्ष्यअनुसार राजस्व संकलनका लागि टोली परिचालन गरिएको महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए ।
अर्यालका अनुसार पहिलो चरणमा वडा नम्बर १ देखि १२ सम्म र त्यो सकिएपछि अन्य वडामा पनि टोली परिचालन गरिने छ । “दुईजना जनप्रतिनिधि र दुईजना कर्मचारी सम्मिलित टोलीले पुरानो वक्यौता उठाउने, नविकरण गर्ने, नयाँ दर्ता गर्ने काम गर्छ" उनले भने । कर सम्बन्धी शिक्षा दिने, गुनासाहरु टिपोट गर्ने र व्यवसायीको तथ्यांक संकलन गर्ने काम पनि साथसाथै हुने उनले बताए ।
भरतपुरले यसअघि नै कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको छ । जसका कारण उद्योग वाणिज्य संघ र उद्योग संघको समन्वयमा व्यवसायीले आफ्नो वर्ग घोषणा गरि स्वतःस्फूर्त कर तिर्ने आएको लेखा अधिकृत अर्यालको भनाई छ ।
भरतपुर महानगरमा राजश्व संकलनका लागि छुट्टै वेबसाइट बनाई आय व्यय विवरण हेर्न सकिने र राजस्व बुझाउन सकिने व्यवस्था गरीएको छ । उक्त कार्यमा सहजताका लागि अप्टिकल फाइबर बिछ्याउने काम पनि गरिरहेको महानगरले जनाएको छ ।
हरेक वडामा एक एमबीपीएसको डेडिकेटेड लाइनमार्फत द्रुत गतिको इन्टरनेट सेवा सञ्चालन गर्न लागिएको हो । नेपाल टेलिकमसंगको समन्वयमा १८ वटा वडामा फाइबर विछ्याउने काम सकिएको बाँकी वडामा चाँडै काम सकिने महानगरले जनाएको छ ।