एउटा सवस्टेशन निर्माण गर्न ११ वर्ष
नेपाल विद्युत प्राधिकरण अन्तर्गतकाे एउटा सवस्टेशन निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट (केभी) क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको हो ।
२५ असार, २०६४ मा निर्माण शुरु भएको सो सवस्टेशन गएको १० फागुन २०७५ मा मात्रै सम्पन्न भएको छ ।
सरकारको रु दुई करोड ९३ लाख ५३ हजार ६६६ कूल लागत रहेको उक्त सवस्टेशन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो । तर ठेकेदार कम्पनी श्री हरि, राप्ती निर्मल निर्माण सेवा जेभीले तोकिएको समयमा काम नगर्दा सवस्टेशन निर्माणमा ढिलाई भएको हो ।
उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजना सम्पन्न हुन लामो समय लाग्नुको पछाडि ठेकेदारको बदमासी रहेको र कानूनी कारवाही नहुँदा ठेकेदारले नै मन्त्री चलाउने अवस्था देखिएको बताए ।
सल्यान जिल्लाका तीन हजार र रुकुम पश्चिमका नौ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेशन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा परेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सधैँ समस्यामा फस्दै आएको सो सवस्टेशनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै ढिलाेगरी निर्माण सकिएकाे बताए ।
बाह्र वर्षमा १४ मन्त्री फेरिए तर सवस्टेशनसमेत नबन्दा भरपर्दो विद्युत् सेवा नपाएको भन्दै स्थानीयले पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समयमा प्राधिकरणको सकारात्मक पहल पछि मात्र आयोजना सम्पन्न भएको सांसद टेकबहादुर बस्नेतले बताए ।
सवस्टेशन निर्माणका लागि ठूलै प्रयास गर्नुपरेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा ५५ वटा सवस्टेसनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने जानकारी दिए ।