टि—ट्वेन्टीमा अफगानिस्तानको विश्व कीर्तिमान
अफगानिस्तानले टि—ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी २७८ रन बनाएर विश्व कीर्तिमान रचेको छ ।
आयरल्याण्डविरुद्धको शनिबारको खेलमा अफगानिस्तानले ३ विकेटको क्षतिमा २७८ रन बनाएको छ । यसअघि २० ओभरको खेलमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध सन् २०१६ मा तीन विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
रोमाञ्चक खेलमा अफगानिस्तानका ओपनर ब्याट्समेन हज्रातुल्लाह जाजाईले टि—ट्वेन्टीमा मात्र ६२ बलको सामना गरि नटआउट १६२ रन बनाए ।
टि—ट्वेन्टीमा जाजाईको यो रन स्कोर अष्ट्रेलियाका आरोन फिन्चभन्दा १० रन कमी हो । फिन्चले सन् २०१८ मा जिम्बाबेसँगको खेलमा १७२ रन बनाएका थिए ।
कीर्तिमानहरुले भरिएको यो खेलमा आयरल्याण्ड ८४ रनले पराजित हुन पुग्यो । आयरल्याण्डले ६ विकेटको क्षतिमा १९४ रन बनायो । जसमा, ओपनर पीआर स्टिलिङले ९२ रन बनाए । आयरल्याण्डका लागि टि—ट्वेन्टीमा उनको यो सबैभन्दा बढी रन हो।
जीतसँगै अफगानिस्तानले टि—ट्वेन्टीको शृंखला जितेको छ ।
यो खेलमा अफगानिस्तानले प्रारम्भिक ब्याट्समेन्सको साझेदारीमा पनि इतिहास रचेको छ । जाजाई र उस्मन घानीले २३६ रनको साझेदारीले आइपीएलमा बिराट कोहली र एबी डेभिलियर्सको २२९ रनको कीर्तिमान पनि तोडेको छ ।
जाजाई एउटै टि—ट्वेन्टीमा १६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि अष्ट्रेलियाका आरोन फिन्चको नाममा १४ छक्काको कीर्तिमान थियो ।
जाजाईको आश्चर्यले भरिएको प्रदर्शनलाई फिन्चले बधाई दिएका छन् ।
अफगानिस्तानका रसिद खानले चार विकेट लिए । प्रतियोगीतामा यो सबैभन्दा राम्रो बलिङ प्रदर्शन हो ।