थप समाचारसोमबार, २४ श्रावण , २०७३

गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

हिमालखबर


अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ । 

जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् । डाँडाखालीको जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको स्थानीयले बताएका छन् । 

शनिबार जमिन भासिएपछि अहिले सो ठाउँका ५१ परिवारको विचल्ली भएको छ । माथिबाट आएको पहिरोले तीनजनाको घर पुरेको छ भने बाँकी रहेका घरपरिवार पनि जमिन भासिएपछि सुरक्षित स्थानतर्फ जान थालेका छन् । 

केही परिवार लोखाडी प्रावि डाँडाखालीमा बसिरहेका छन् भने अन्य परिवार सुरक्षित वासस्थानको खोजीमा रहेको स्थानीय रनबहादुर बोहराले बताए । उनले भने, “अहिले गाउँका सबै मानिस त्रासदीपूर्ण वातावरणमा बस्न बाध्य छौँ ।” 

सो गाउँमा अहिले प्रहरी, रेडक्रस र विपद्मा काम गर्ने सङ्घसंस्था र स्थानीय प्राविधिक टोली खटाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्राविधिक टोलीले अध्ययन गरेपछि बस्ती नै सार्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए । 

वर्षा हुने क्रम नरोकिएकाले स्थानीय बासिन्दा झन त्रसित छन् । रासस 

प्रतिकृया दिनुहोस