खेलकुदशनिबार, ११ फाल्गुण , २०७५

अत्तरियालाई डीपीएल उपाधि

हिमालखबर

धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको उपाधि सीवाईसी अत्तरियाले जितेको छ ।

धनगढीस्थित रहेको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हरायो । अन्तिम क्वालिफायर खेलमा आफ्ना खेलाडीलाई कारवाही गरेको भन्दैं काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गरेपछि महेन्द्रनगर वाकओभरमार्फत फाइनल पुगेको थियो ।

टस जितेर ब्याटिङमा उत्रिएको महेन्द्रनगरका ओपनर दिलिप नाथले ४३ रन बनाए । ४१ बल खेलका उनले ५ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र मोहम्मद नाभेद १० रनमा आउट भए। महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए।

अत्तरियाका दिपेन्द्र रावतले २ ओभरमा ११ र दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २÷२ विकेट लिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए।

महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रनका साथ पूरा गर्‍याे । अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए। पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे।

अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए। अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दिपेन्द्रसिंह ऐरीले १७ रन जोडेका थिए। महेन्द्रनगरका मोहम्मद नाभेद र अविनाश बोहोराले २/२ विकेट लिए।

‘म्यान अफ द फाइनल’ र ‘म्यान अफ द सिरिज’ दुवैमा अत्तरियाका सन्नी पटेलको हात पारे । उनले बेस्ट ब्याट्समेनको उपाधि पनि जिते । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाए ।

बलिङमा ९ विकेट लिएका थिए । उनले बेस्ट ब्याट्सम्यानसहित नगद २ लाख प्राप्त गरे ।

प्रतियोगिताको ‘मोष्ट भ्यालुएबल प्लेयर’ सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरी चुनिए । उनले ‘गोल्डेन बुट’ पाए । ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।

७ खेलमा १४ विकेट लिदैं प्रतियोगितामा सिवाईसीकै भुवन कार्की उत्कृष्ट बलर चुनिए । उनले नगद एक लाख प्राप्त गरे ।

उपाधि जितेसँगै अत्तरियाले नगद ३० लाखसहितका पुरस्कार पाएको छ भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाउनु परेको छ ।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले राउन्ड रोबिनको खेलमा भने अत्तरियालाई पराजित गरेको थियो, जुन अत्तरियाको प्रतियोगितामा एकमात्र हार थियो ।

डीपीएलका यसअघिका दुई संस्करण जितेको घरेलु टोली धनगढी स्टार्स पहिलोचरणबाटै बाहिरिएको थियो ।

धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाईज टोलीको सहभागिता थियो ।

 

प्रतिकृया दिनुहोस