कला/साहित्यशनिबार, ११ फाल्गुण , २०७५

मान्छेभित्रका किताब

हिमालखबर

-नीलम कार्की निहारिका

प्रसंग १

साइनो नखुलाऊ यहाँ।

तर, यत्ति भनुँ विवाहपश्चात गाँसिएको एक नाता । केही भेटघाटमै मलाई प्रभाव परेको व्यक्तित्व । उहाँले एकाबिहानै फोन गर्नुभयो।

“तिमीसँग धेरै कुरा गर्नु छ”, भन्दै बिहानको चिया, खाना खाने गरी घरमा निमन्त्रणा दिनुभयो।

म अमेरिकातिर आउनुअघिको कुरा थियो, त्यो । आजभन्दा बाह्र वर्ष अघिको।

त्यस समय ५ बजेको बिहानी क्याम्पसबाट शुरु भएको मेरो दैनिकी काठमाडौं शिक्षा क्याम्पसमा साँझको अध्यापनपश्चात घर फर्किएर रातमा टुंगिन्थ्यो।

‘जरुरी काम छ’ भन्दै, केही दिन पछि फेरि उहाँकै फोन
आयो। अब जसरी पनि जानुपर्ने ठम्याएर भने‌ं– “खाना होइन चियाको लागि आउँछु।”
एक बिहान सात बजेतिर उहाँको घर पुगें।

“मेरो जीवनमा आधारित किताब लेखिदेऊ न नीलम । त्यही भन्न बोलाएकी।”

म त्यो बेला रेडियो नेपाल र टेलिभिजनमा स्वास्थ्य कार्यक्रम पनि चलाउँथे‌ं ।

प्रायः कुन डाक्टरलाई देखाउँदा उचित हुन्छ भन्ने परामर्श, या फलाना डाक्टरसँग समय लिइदेऊ न भन्ने खालको सहयोगको अपेक्षा मबाट बढी राखिन्थ्यो । त्यहाँ पुग्दासम्म मेरो पूर्वानुमान पनि त्यही थियो ।

त्यो भव्य विलासी महलमा बस्ने सधैं सुखी सम्पन्न देखिने ती नारीबाट मैले कुनै कथाको अपेक्षा गरेकी थिइनँ ।

त्यतिञ्जेलसम्म हामी दुई मात्र थियौं, मैले अरु परिवारका सदस्यबारे सोधें । श्रीमानको सन्दर्भमा उहाँको जवाफ थियो – “उहाँ आउने बेला भएको छैन, नौ–दश बजेबीचमा आउनुहुन्छ । रातमा खाने बस्ने कान्छीकहाँ, बिहानको खाना यता हो ।” त्यही जवाफले शुरु भएको थियो मेरो ‘आश्चर्य’!

आफू कलेजको विदामा घर जाँदा कसरी अप्रत्यासित विवाह भयो । घर पुग्दा आमा गुमाएका दुई साना छोरी कसरी टुलुटुलु हेरेर बसेका थिए, अनि तिनीहरुलाई आफूले कसरी हुर्काएँ सम्मको बेलिबिस्तार उहाँको जवाफमा थियो ।

“अनि सासू र उहाँको सल्लाहले कुल थाम्ने सन्तानको लागि एक गरीबकी छोरीसँग गोप्य विवाह गरी बाहिर नै राखेछन् । छोरा जन्माएपछि मात्र थाहा पाएँ ।”

सुन्दा अपत्यारिलो जस्तो लागे पनि, उहाँ बोलिरहँदा साडीको फेरोले पुछ्नुभएको आँसु प्रशस्त प्रमाण थियो ।

“मबाट छोराको जन्म नहुने थिएन होला । साना छन्, यी हुर्किएपछि मात्र पाउने भन्नु भो, मैले तीन पटक एबोर्सन गराएँ । चौथोको बेला त मैले धेरै समयसम्म भन्दै भनिनँ । अनि जन्माएकी एउटी छोरी ।” आफू, श्रीमान र तीन छोरीको फोटोतर्फ देखाउँदै भन्नुभो।

उहाँको अलिखित किताब बोकेर म अमेरिका आएँ ।

नेपालबाट एकदिन फेसबुकमा मेसेज आयो– तिम्रो ‘अर्की आईमाई’ उपन्यासमा ठाउँ–ठाउँमा आफूलाई भेटेर कति रोएँ–रोएँ । सिरानीमै छ अहिले पनि ।

‘अर्की आईमाई’को फोटो पनि पठाउनुभएको रहेछ ।

प्रसंग २

त्यसबखत म नेपालगञ्जमा नर्सिङको विद्यार्थी थिएँ । सालनालसँगै राझाको झाडीमा फालिएको नवजात शिशु प्रहरीले अस्पतालमा लिएर आए । रेखदेख मेरो जिम्मेवारीमा पर्‍यो ।

आफ्नै हातले स्याहार गर्दा कुन्तीलाई सम्झे‌ ।

दिनदिन सुनिने, बलात्कारका घटनाहरुले द्रौपदी सम्झे‌ ।

सत्यवतीसँग पनि साक्षात्कार भयो ।

आँखामा पट्टी बाँध्ने गान्धारी कति छन् कति !

सिंहासन र पुत्र मोहका धृतराष्ट्र पात्र पढियो अनि देखियो र भोगियो पनि ।

विद्वान विदुरहरु आज पनि उपेक्षित छन् । युधिष्ठिर र कर्ण पनि नभएका होइनन् । दुर्योधन र शकुनि उत्ति नै छन् । सबै जानकार छौं शकुनि चालले नै चलाउन खोज्छ राज्यसत्ता ।

यही समाज, यही परिवेश चित्रण !

बाल्यकालदेखि सुने‌ आमाबाट कथा महाभारतको । कति देखें, कति भोगें । वर्तमानमा दुरुस्तै लाग्ने महाभारत । अनि त लेखियो– चीरहरण ।

अहिलेलाई यति, बाँकी कुरा विस्तारमा ।

प्रसंग ३

“अब मजाले अध्ययन गरी योगमाया लेख्नु”, यो भनाइ थियो गुरु दाहाल यज्ञनिधिको ।

आख्यान लेख्न लागेपछि त झन् देश, परदेशमा जहाँ हिंड्यो त्यही‌ कथा नै कथा देख्न लागे‌ । पात्रहरुले पछ्याउन, लखेट्न लागे ।

यो कथा लिपिवद्ध गरिदिनु है भन्दै विषयवस्तु दिने व्यक्ति धेरै भेटें । केहीले त लेख्नको लागि पटक–पटक अनुरोध–अनुनय पनि गरे ।

तर, योगमाया लेख्न लगाउनु मेरो गुरुको अनुरोध होइन निर्देशन या गृहकार्य हो भन्ने बुझें । त्यसैले गुरु आदेशलाई सहर्ष पालना गरें ।

दाहाल यज्ञनिधि, जसलाई जहिले पनि राष्ट्रकै चिन्ता हुन्थ्यो । र, हुन्थ्यो सीमान्तकृत आवाज बुलन्द गर्ने हुटहुटी । रेडियो नेपालमा उहाँसँगै साहित्य सञ्चार कार्यक्रम सञ्चालन गर्दा चेली बनेर उहाँबाट धेरै ज्ञान हासिल गर्ने मौका पाएकी थिएँ । त्यसैले साहित्य र सञ्चारका मेरा गुरु हुनुहुन्थ्यो–दाहाल यज्ञनिधि ।

मेरा आदरणीय गुरुले विषय दिनुभयो । मैले ‘हुन्छ लेख्छु’ पनि भने‌, तर छिमोल्न निकै मुश्किल काम थियो । कारण, योगमायाको सन्दर्भमा निकै कम जानकारी थियो मलाई ।

उनको जीवनबारे कसरी थाहा पाउनु, सामग्री कसरी जुटाउनु ? छटपटीले नै रातको निद र दिनको चैन हराउने रहेछ । हरायो मेरो पनि ।

आमाले सधैं भन्नुहुन्छ– “ईश्वरले तँ आँट म पुर्‍याउँछु भन्छन्, आँट गर्नुपर्छ ।”

अर्को कुरा पनि भनिरहनुहुन्छ– “जाँगर चलाउनुपर्छ, हिँडे पो ठाउँमा पुगिन्छ ।” हो रहेछ । म पनि आमा र गुरुको आशिष सिउरिएर खोज, अनुसन्धानको लागि अघि बढें, धेरै सहयोगी हात जुट्दै गए ।

अलिअलि गर्दै योगमायाको जीवनका पाना पल्टि‌दै गए । अध्ययन गर्दै गएँ । मनन् गर्दै गएँ । योगमायाको जीवनको उद्देश्य, समानता, नारीमुक्ति, शिक्षाको अवसर, जातपातदेखि हर किसिमको भेदभावको अन्त्य, भ्रष्टाचाररहित समाज, सुशासनको स्थापना...। जति बुझ्दै/पढ्दै जान्थे‌ं उति आफू भित्रभित्रै आन्दोलित हुन्थेँ।

यसैबीच अर्को दोसाँध आइपर्‍यो । त्यो के भने– एकदिन प्रा. कृष्ण गौतम सरले सुझाउनु भो, “यति दुःख गरेर सामग्री भेला पार्नुभयो । यसलाई उपन्यास होइन, अनुसन्धानको पुस्तक बनाउनु । सत्य–तथ्य जति भए पनि आख्यान आखिरमा आख्यान नै हुन्छ ।” उहाँको कथनले एक/दुई दिन सोच्ने बनायो । अनि त्यसबारे गुरु दाहाल यज्ञनिधिको सुझावलाई शिरोपण गर्ने निर्क्यौल गरें ।

अन्ततः उपन्यास नै लेखिने भयो । कारण थियो– अनुसन्धानको पुस्तक भन्दा उपन्यासलाई धेरैले पढ्छन्, भन्ने विश्वास ।

सिर्जना गर्नुपूर्व लक्षित पाठक तय गरें । साधारण साक्षरदेखि पठित विद्वान सबै वर्गलाई रुचिकर, पठनीय र बोधगम्य हुनुपर्छ भन्ने लेखनको एक ध्येय लिएर लेख्न बसें । त्यही अनुरुप उपन्यास तयार भयो ।

कुसुन्तीकी ९५ वर्षीया हजुरआमा इन्द्रमाया पौडेलदेखि १२ वर्षकी स्कूले नानीबाट ‘योगमाया’ पढें, भन्ने प्रतिक्रिया पाएँ।

कति साधारण लेखपढ गर्नेले महीना दिन लाएर पूरा गरेको पनि जानकारी गराउनुभयो । केहीले पढिसकेर धार्मिक ग्रन्थलाई जस्तै कपडामा बेरेर घरमा पूजा गर्ने स्थानमा स–सम्मान राख्नु भएछ !

विभिन्न क्षेत्र र पेशामा आवद्ध देश–विदेशमा रहनुभएका व्यक्तित्वहरुबाट प्रतिक्रियाहरु प्राप्त भइरहे।

राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो– “योगमाया धोद्लेमा जन्मिएको तपाईंको पुस्तक पढेर थाहा पाएँ । म पनि त्यही धोद्लेसँग जोडिएको गाउँमा जन्मिएकी हुँ ।”

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टेलिफोनबाट प्रतिक्रिया दिनुभयो । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गायक प्रमोद खरेल, सञ्चारकर्मी रिता लिम्बू लगायतले योगमाया उपन्यासबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभयो ।

अनि योगमाया उपन्यास सर्जकको हिसाबले म ढुक्क भएँ– सबै वर्गको लागि उपन्यास पठनयोग्य भएकोमा । लेखनको प्रथम उद्देश्यमा सफल भएछु भन्ने पनि लाग्यो । अब रह्यो त्यसले जीवन र समाजमा पारेको प्रभाव पक्ष जान्ने ।

पुनश्चः योगमायाको मुख्य चाहना धर्म–राज्य अर्थात् सुशासनको स्थापना थियो ।

प्रतिकृया दिनुहोस