टिप्पणीशनिबार, ११ फाल्गुण , २०७५

समृद्धिको यात्रामा संस्कृतिलाई हेला

वसन्त महर्जन

विकास–निर्माणको नाममा इतिहास, संस्कृति र सम्पदालाई बिर्सनु दुर्घटना हो।

खोकनाको सिकाली मन्दिर ।

विकास र समृद्धि शब्दले बृहत् अर्थ बोके पनि हामीकहाँ यसलाई भौतिक संरचनाको निर्माणमा सीमित गरिन्छ । फलस्वरूप इतिहास, संस्कृति, सम्पदा जस्ता राष्ट्रिय पहिचानका आधार भौतिक निर्माणको थिचोमिचोमा परिरहेका छन् । अहिले समृद्धिलाई मूल मन्त्र बनाइरहेको केपी शर्मा ओली नेतृत्वको सरकारले समेत यसको बृहत् अर्थ मनन गरेको छैन ।

गौतम बुद्धको जन्मस्थल तथा विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीलाई सरकारले पर्यटकीय हबको रूपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर, त्यही ठाउँमा सिमेन्ट र स्टिल उद्योग, इँटा भट्टा आदि सञ्चालनमा छुट दिइएको छ । यी कलकारखानाका कारण लुम्बिनी क्षेत्रले वायु प्रदूषण अचाक्ली खेपिरहेको छ ।

पर्यटकीय हबको सोच र सम्पदा क्षेत्रमा प्रदूषणको कारक उद्योगलाई सञ्चालन अनुमति आफैंमा विरोधाभास हो । लुम्बिनीको सम्पदा क्षेत्रलाई प्रदूषणमुक्त बनाउन त्यहाँका उद्योगलाई अन्यत्र सार्न लुम्बिनी विकास कोषले आग्रह गर्दै आएको छ ।

२०७१ सालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन चलिरहेकै समयमा लुम्बिनी क्षेत्रको धुवाँ–धूलोयुक्त आकाशलाई संकेत गर्दै एक भारतीय वातावरणविद्ले सचेत गराएका थिए ।

यहाँको अशोक स्तम्भमा रासायनिक प्रक्रियाका कारण असर पर्न थालेको हालै प्रकाशित अध्ययनले औंल्याएको छ । सम्पदा क्षेत्रमा वातावरणीय जोखिम परेको देखिंदा देखिंदै नियन्त्रणको पहल नहुनु विडम्बना हो । सांस्कृतिक सम्पदाहरू सरकार आफैंले मासिरहेको भन्ने होइन, सम्पदा मास्ने व्यक्ति वा समूहको रक्षाकवच बन्ने तथा अभयदान दिने प्रवृत्ति पनि उत्तिकै घातक छ ।

सांस्कृतिक महत्वका पोखरी तथा खुला चौरहरू विकासको नाममा मासेर भवन तथा अन्य संरचना निर्माण गर्ने प्रवृत्ति नयाँ होइन । यस्तो कार्यको विरोध गर्दा सजिलै विकास विरोधीको संज्ञा दिएर दुत्कारिन्छ ।

विकास निर्माणमा बाधा पार्नु हुँदैन भन्दै पुरातात्विक सम्पदाहरू भएको ठाउँमा डोजर लगाएर बाटो बनाइन्छ । काठमाडौं–हेटौंडा द्रुत मार्ग निर्माण क्षेत्रमा पर्ने खोकनाको जमीनमुनि पुरातात्विक संरचनाहरू छन् ।

सो क्षेत्रका केही ठाउँको उत्खनन गर्दा पुरातात्विक महत्वका वस्तु भेटिएका छन् । प्राप्त इँटा तथा अन्य आधारमा ती संरचना मध्यकालीन लाग्छन् । कानून अनुसार सय वर्षभन्दा पुराना वस्तु पुरातत्वमा गनिन्छन्, जसको सुरक्षा गर्नु राज्यको दायित्व हो ।

अनेकौं विकल्प हुँदाहुँदै बेवास्ता गरी सम्पदामाथि शत्रुवत् व्यवहार गरिएको उदाहरण हो, खोकनाको हाल । द्रुत मार्गलाई थोरै घुमाएर अन्तैबाट लैजाँदा जोगिने सम्पदा विकासको नाममा बलमिच्याइँ गर्दा नष्ट हुने अवस्थामा छन् ।

मौलिक वास्तुकलायुक्त प्राचीन बस्तीका मन्दिर, सत्तल, पाटी, धारा तथा व्यक्तिगत घरहरू ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले खुला संग्रहालय हुन् । यो बस्तीका संरचना भत्काइँदा एउटा सभ्यता नै नष्ट भइरहेको छ ।

विकास र समृद्धिको पाइलाले पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सांस्कृतिक र ऐतिहासिक सम्पदालाई निशाना बनाइरहेको छ । यी क्षेत्रहरूमा नेवार समुदायको बाहुल्य छ ।

विकास निर्माणका नाममा आफ्नो बसोबास क्षेत्रमा जोडबल गरिंदा सांस्कृतिक जीवनमा असर पार्नुका साथै विस्थापनको जोखिम बढेको गुनासो यो समुदायले गरिरहेको छ । इतिहास, संस्कृति तथा पुरातत्व सम्बद्ध विज्ञ तथा अभियन्ताले जस्तै वातावरण क्षेत्रका पक्षधरले पनि विकासको नाममा प्राकृतिक सम्पदाहरूको दोहन भइरहेकोमा आपत्ति जनाउँदै आएका छन् ।

नीति निर्माताले सडकले समृद्धि ल्याउँछ भन्ने अपेक्षा गर्नु नाजायज होइन । तर, यो सोचाइ सधैं सही नहुन सक्छ । सडक कहाँ र केका लागि बनाइँदैछ, त्यस क्रममा के–कस्ता कुरामा विचार पु¥याउने भन्ने पाटो महत्वपूर्ण हुन्छ ।

ग्रामीण भेकमा तरकारी, फलफूल जस्ता स्थानीय उत्पादन निकासी गर्न बनाइएको बाटोबाट चाउचाउ, बिस्कुट तथा अन्य खाद्यवस्तु भित्रिने क्रमले बढावा पाएको र ती ठाउँलाई थप परनिर्भर बनाएका दृष्टान्तहरू आर्थिक अध्ययनबाट पनि पुष्टि भइसकेका छन् । यसकारण समृद्धि भौतिक कुराबाट मात्र नभई सोचको विकासबाट सम्भव हुन्छ ।

इतिहास बोल्ने र संस्कृति झल्काउने सम्पूर्ण सम्पदा नेपालका गौरव हुन् । यही गौरवलाई जोगाएर पनि समृद्धिको यात्रा बढाउन सकिन्छ । सम्पदा मासेर आधुनिक संरचना निर्माण गर्नुलाई समृद्धिको अर्थमा बुझ्नु आत्मघाती कदम मात्र हो ।

प्रतिकृया दिनुहोस