ब्लगशनिबार, ११ फाल्गुण , २०७५

डिल्लीबजार र चारखाल अड्डा

भैरव रिसाल

जंगबहादुर राणाको जल्दोबल्दो शासनकालमा गैरराणा व्यक्तिको नामबाट डिल्लीबजारको नाम रहन गएको थियो।

नेपालको राजनीतिक विकासमा डिल्लीबजारको विशिष्ट इतिहास छ । राणा शासनको पछिल्लो कालखण्ड अर्थात् १९९० सालको भूकम्पपछि त्यहाँ लप्टनको चियापसल थियो । प्रतिकप १० पैसामा चिया पाइन्थ्यो ।

मानिसहरू पाँच पैसामा आधा कप चिया खाएर घन्टौं समसामयिक विषयमा गफिन्थे । अन्ततः त्यो पसल राजनीतिक छलफल र विचार–विमर्श गर्ने अखडा नै बन्यो । डिल्लीबजारमा उतिबेला दरबारमा पहुँच भएका मानिसहरू बस्थे ।

अलि पछि काठमाडौं खाल्डोका पढेलेखेका जमातको बसोबास बढ्दै गयो । उपत्यका बाहिरबाट आउनेहरूले पनि घरबारका लागि डिल्लीबजार र कालिकास्थान क्षेत्र रोज्न थाले । समयक्रममा चारखाल अड्डा पनि डिल्लीबजारमै बस्यो ।

कुनै पनि ठाउँको नाम रहनुको पछाडि विशेष घटना, परिवेश र पात्रको रोचक किस्सा जोडिएको हुन्छ । डिल्लीबजारको नाम कसरी रह्यो त ? पृष्ठभूमि खोतल्ने क्रममा श्री ३ जंगबहादुर राणाको जल्दोबल्दो शासनको बेला गैरराणा व्यक्तिको नामबाट यो ठाउँको नाम राखिएको देखियो ।

चारखाल अड्डा । तस्वीरः www.museumsyndicate.com

तिनताका डिल्लीसिंह बस्नेत नाम गरेका सेनाका एक जना चिफ कर्णेल रहेछन् । उपत्यकाका विभिन्न ठाउँमा उनका पुर्खाहरूको गुठी जग्गा रहेछ । तिनैमध्येको एक भागमा डिल्लीसिंहले वि.सं. १९२४ मा भगवान राम, शिव र भगवतीको मन्दिर बनाउन लगाएछन् ।

मन्दिर बनेर भक्तजनको चहलपहल बढेसँगै त्यहाँ पसलहरू राख्न थालियो । दुई–चार वटा पसल के राखियो, बजार भन्न थालिएछ । डिल्लीसिंहले मन्दिर बनाएको र मन्दिरकै कारण बजार बसेकोले त्यो क्षेत्रलाई ‘डिल्लीबजार’ भन्न थालिएछ ।

त्यतिबेला पूरै फाँट रहेको डिल्लीबजारमा बस्ती पातलो थियो । शिवपुरीको फेदी बूढानीलकण्ठतिरबाट ठूलै कुलो खनेर पानी ल्याइएको थियो । अहिले सिंहदरबार रहेको ठाउँमा पानीघट्ट थियो । वरपरका मानिस घट्टमा मकै, गहुँ, मास पिसाउन ल्याउँथे । खानेपानीको व्यवस्थित धारा नबनिसकेको त्यो बेला मानिसहरू त्यही घट्टेकुलोको पानी खान्थे रे ! तर, पछि बस्ती बढ्दै जाँदा पानी फोहोर हुन थालेपछि खान बाहेकका प्रयोजनमा उपयोग गर्न थालिएछ ।

ठाउँठाउँमा ढुंगेधारा पनि थिए । वि.सं. १९४२ पछि त वीरशमशेरको राज्यकालमा खानेपानीको धारा नै बने । चन्द्रशमशेरले १९६० फागुनमा सिंहदरबार बनाएपछि घट्ट र कुलो मासियो । तथापि अहिलेसम्म एउटा टोलको नाम नै ‘घट्टेकुलो’ छ ।

चार अड्डाको चारखाल
जंगबहादुरले बेलायत भ्रमणबाट फर्केपछि शासन प्रणाली व्यवस्थित पार्ने क्रममा केन्द्रदेखि स्थानीय तहसम्म प्रशासन, न्याय आदिको बन्दोबस्त मिलाउनतर्फ लागे ।

चन्द्रशमशेरको शासनकालमा आइपुग्दा १९६३ सालमा कोटलिङ अदालत र इटाचपली अदालतको नाम परिवर्तन गरी क्रमशः सदर देवानी र सदर फौजदारी अदालत बनाइयो । ती दुई अदालतका साथै धनसार र टक्सार नामका अड्डाहरू पनि डिल्लीबजारमा राखिएछ । चार वटा अड्डा एकै ठाउँमा रहेकाले सो ठाउँलाई ‘चारखाल’ भन्न थालिएको कथन पाइन्छ ।

१९९७ साल अघिसम्म केन्द्रमा कौशल, सदर अदालतहरू, धनसार, टक्सार आदि अड्डा थिए । भारदारीतर्फ पहिलो, दोस्रो, तेस्रो फाँट, बिन्तीपत्र निक्सारी, खड्ग निशाना अड्डा, मुलुकी बन्दोबस्त अड्डा, सदर जंगी कोतवाली जस्ता अड्डा–अदालतहरू थिए ।

१९९७ सालमा जुद्धशमशेरले सनद जारी गरी प्रधान न्यायालय स्थापना गरे । त्यसपछि मुद्दा हेर्ने अड्डा र प्रशासनको बेग्लाबेग्लै परिचय र अस्तित्व स्थापित भयो । न्यायालय मातहत अपिल सुनेर निर्णय गर्ने अपिल अड्डा र ती मातहत अमिनीबाट न्याय सम्पादन हुन थाल्यो ।

यी माथिका ऐनमा नसमेटिएका विषयमा भने मुलुकी ऐन सरह फुटकर विषयको मुलुकी सवाल जारी हुन्थ्यो । त्यस्तामा श्री ५ को लालमोहर होइन, श्री ३ को खड्ग निशाना लाग्थ्यो ।

प्रतिकृया दिनुहोस