व्यक्तित्वशनिबार, ११ फाल्गुण , २०७५

साधु साधक गएपछि

केदार शर्मा

शिव रेग्मीले संसार छाडे लगत्तै लेखिंदै गरेको यो लेख कहिलेको कुराबाट थालौं ? उनले दाजुको कोटको खल्तीमा चिठी हाल्दिएर घर छाडेको दिनबाट ?

भैगो । एउटा निधनालेखको थालनी नै रमाइला कुराबाट किन गर्नु ? त्यो एकछिन पछिलाई साँचौं !

शिव रेग्मी नेपाली पत्रपत्रिकाका सबभन्दा ठूला संकलक, अध्येता र अन्वेषक थिए । त्यसै विधाको अग्रणी संस्था मदन पुरस्कार पुस्तकालयले उनको निधनपछि ट्वीटरमा लेख्यो ‘नेपाली साहित्यको अध्ययन–अनुसन्धान तथा ऐतिहासिक सामग्रीहरूको संकलनमा विशिष्ट योगदान गर्नुहुने, जगदम्बा–श्री २०७० बाट सम्मानित शिव रेग्मीज्यूप्रति हार्दिक श्रद्धा ।’

इतिहासविद् र अनुसन्धाता प्रत्यूष वन्तले ट्वीट गरे, ‘नेपालीमा प्रकाशित सामयिक पत्रपत्रिकाका इतिहासज्ञहरूमध्ये शिव रेग्मी सबभन्दा अग्ला हुनुहुन्थ्यो । उहाँको निधनबाट ठूलो क्षति पुगेको छ । म र मार्टिन चौतारीका मेरा सहकर्मी अनुसन्धाताहरूले उहाँको ज्ञान र उदारताबाट धेरै कुरा पाएका छौं । उहाँको अभाव सधैं खट्किनेछ ।’

पूर्व प्रशासक कृष्ण ज्ञवालीका शब्दमा शिव रेग्मी अत्यन्त स्वाभिमानी व्यक्ति, इमानदार राष्ट्रसेवक र अनुसन्धानात्मक नेपाली साहित्यका लगनशील साधक थिए ।

यस पंक्तिकारलाई लाग्यो, एकजना साधु साधक बिदा भए ।

अक्षर मोह
साढे दुई वर्षको छँदा आमा र १० वर्षको नहुँदै बाबु गुमाएका बालक शिव रेग्मीको अभिभावकत्व उनीभन्दा १० वर्ष जति जेठा दाजु र भाउजू (रामप्रसाद र सावित्री) का काँधमा पर्‍यो । उनीहरूको घर ठमेलमा र पढ्ने ठाउँ क्षेत्रपाटीको जेपी स्कूल थियो । तर उनको पढाइ स्कूलमा मात्र सीमित थिएन । साहित्यिक किताबहरू पनि चाख दिएर पढ्थे, त्यसमा २००७ सालपछि चलेको अक्षर र अभिव्यक्तिको लहरले अझ ऊर्जा थप्यो ।

अक्षरको मोहले उनलाई डोर्‍याउँदै गयो । ‘स्कूलमा गुरुहरू पनि साहित्यिक अभिरुचिका हुनुहुन्थ्यो र त्यतिखेरका नेपाली पाठ्यपुस्तक बढी साहित्य सम्बन्धी हुन्थे । २०१५ सालमा एस्.एल्.सी. दिंदासम्म म पाठ्यपुस्तकमा भन्दा साहित्यिक पुस्तकहरूमा बलियो भइसकेको थिएँ’ २०७१ सालमा जगदम्बा–श्री पुरस्कार ग्रहण गरेपछिको वक्तव्यमा उनले भनेका थिए ।

नेपालमा शुरू भएको जनजागरणका प्रतीक थिए, टोलटोलमा खुलेका पुस्तकालय । शिव रेग्मीको पुस्तक पढ्ने रहर घर नजिकैको नवीन विकास मण्डल पुस्तकालय सहित विभिन्न स्थानीय र राष्ट्रिय पुस्तकालयले पूरा गर्न थाले । उनले नै सुनाए अनुसार पढेका पत्रपत्रिका क्रम मिलाएर राख्दा राख्दै र पढ्न छुटेका अंक खोजेर सेट मिलाउँदा मिलाउँदै एउटा मध्यवित्त ब्राह्मण परिवारको युवकभित्र संकलक र अन्वेषक शिव रेग्मी विकसित भयो ।

टोखाबास
तर त्यसैबेला उनलाई टीबी लाग्यो । त्यसबेलाको टीबी– कालको अर्को नाम ! नारायणहिटी दरबारमा जागिर खाएका उनका दाजु रामप्रसादले राजा गुहारेर भाइलाई टोखास्थित सेनेटोरियममा भर्ना गरे ।

सेनेटोरियममा २५ महीना बसेर रोग काटेपछि उनी घर फर्किए । त्यसपछि पहिलेकै काम, अध्ययन र सङ्गतले निरन्तरता पाए । उनी कविता, कथा लेख्न थाले । उनकै शब्दमा ‘कविता, कथा, समीक्षा, विवेचना हुँदै मेरो लेखन अनुसन्धानतिर पछि मोडिएको हो ।’

टीबीका रोगीलाई लामो समयसम्म सुई लगाउनुपर्थ्याे । सबै बिरामीले त्यो सुविधा पाउँथे वा दाइको प्रभावले शिव रेग्मी विशेष थिए, उनलाई सुई लगाइदिन अस्पतालबाटै एक नर्स घरमा आउँथिन् ।

परिवारका अनुशासित सदस्य शिव २०२४ सालको कुनै एक साँझ घर फर्केनन् । भाइको खोजीमा जान दाजुले कोट लगाउने क्रममा खल्तीमा एउटा चिठी भेटे । तीन वर्षदेखि दाजु भाउजूसामु मुख फोर्न नसकेको कुरा त्यही चिठीले भनेछ । शिव त्यसै दिनदेखि टोखाबाट आउने तिनै नर्स, वटु टोलकी ज्वाला बज्राचार्यसित डेरामा बस्न थालेछन् ।

टोखाले उनलाई पुनर्जीवन मात्र होइन, जीवनसाथी नै दिएछ । त्यसबेलाको अन्तरजातीय प्रेम ! टीबी मात्र ‘त्यसबेलाको’ थिएन, समाज पनि ‘त्यसबेलाकै’ थियो । करीब डेढ वर्ष दाजुभाउजूकहाँ पनि आउजाउ भएन ।

अनि सिनेमाको कथामा जस्तै दाजु बिरामी परे । भाइ आफ्नी नर्स पत्नीको सेवा सहित दाजुलाई भेट्न गए । मिल्न निहुँ चाहिएका दाजुभाइका परिवारको मिलन भयो । त्यसबेलासम्म शिव–ज्वालाकी छोरी शैलजा जन्मिसकेकी थिइन् । ज्वालालाई अल्जाइमर्सले नगाँजेसम्म यी दुईको दाम्पत्य जीवन ४८ वर्ष चल्यो ।

कामको वजन
शिव रेग्मीको व्यक्तित्व र कामबारे माथिका केही भनाइले नै धेरै कुरा भन्छन् । उनी नहुनु हामी जस्ता सजिलो सूचनाका अम्मलीहरूका लागि सोध्ने सहज ठाउँ हराउनु हो । धेरै कुरा उनले लेखेर राखिदिएका छन्, तर उनले संकलन गरेका सामग्रीको गरिमा बुझेर संस्थागत व्यवस्थापन गर्ने चुनौती अझ ठूलो छ । अहिले शोकमा रहेका उनका छोरी–ज्वाइँलाई त्यो अभिभारा वहन र व्यवस्थापन गर्ने क्षमता हासिल होस् ।

 

प्रतिकृया दिनुहोस