नख्खुस्थित एनसेल मुख्यालयमा बम विष्फोट, तीन पैदलयात्री घाइते
ललितपुरकाे नख्खुमा रहेको निजी टेलिकम कम्पनी एनसेल कार्यालयको प्रवेशद्वारमा बम विष्फोट भएको छ ।
एनसेल टावरमा शुक्रबारसाँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, विष्फोटमा तीनजना पैदलयात्री घाइते भएका छन् ।
कमलपाेखरीमा अाँगन मिठाई पसल अगाडि शंकास्पद अवस्थामा रहेकाे प्रेसरकुकर । तस्वीर: किरण नेपाल
घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो । अहिले प्रहरी परिसर, पाटनबाट खटिएको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।
यसैबीच कमलपेखरीमा पनि शंकास्पद बस्तु भेटिएको छ । आँगन मिठाई पसलनजिक बेबारिसे प्रेसर कुकर भेटिएको छ। शंकास्पद बस्तुबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार उक्त बस्तुबारे अनुसन्धान भइरहेकाे र सेना र प्रहरीले सो क्षेत्रमा सुरक्षा दिइरहेको छ।
यसअघि बिहीबार राति बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेका थिए ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण थियो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए ।