एयरबस मर्मतको टेण्डर प्रक्रिया रोक्न निर्देशन
प्रतिनिधिसभाको लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ३२० विमानको पाटपूर्जा किन्ने ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको
छ ।
१० फागुनमा सिंहदरबारमा बसेको बैठकले अर्काे निर्णय नभएसम्म टेण्डर प्रक्रिया यथास्थितीमा राख्न निर्देशन दिएको हो । उनले टेण्डर प्रकृयामा समितिमा परेको उजुरीप्रति चित्तबुभ्mदो जवाफ नआएकाले टेण्डर प्रक्रिया रोक्न निर्देशन दिएको बताए ।
निगमले गत कात्तिकमा न्यारोबडी एयरबस ३२० विमान मर्मतका लागि उपकरण किन्न आह्वान गरेको टेण्डर शुक्रबार नै खोल्ने तयारी गरेको थियो ।
निगमले वाइड बडी ए ३३० का उपकरण र न्यारोबडी ए ३२०को उपकरण र इञ्जिन लिजमा लिन टेण्डर आह्वान गरेको थियो ।
गत पुसमा वाइडबडी विमान एयरबस ३३० विमानको उपकरण सप्लाईको टेण्डर एजे वाल्टरले पाएपछि टेण्डर प्रक्रियामा सहभागी लुप्थान्साले टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै लेखा समितिमा उजुरी दायर गरेको हो ।
समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले एयरबस ३३० को टेण्डर प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरे । “लुप्थान्साको प्रस्तावले निगमले आह्वान गरेको बोलपत्रका सबै सर्त पूरा गरेको थिएन । त्यसैले उक्त प्रस्ताव अस्विकृत भएको थियो”, बैठकमा खरेलले भने । उनले बदनियतबस लुप्थान्साले उजुरी गरेको आरोप लगाए ।
खरेलले उपकरण खरीद र इञ्जिन लिजमा लिने बोलपत्र एकैपटक मूल्यांकन गर्न प्राविधिक रुपमा सम्भव नभएपछि बोलपत्र खारेज गर्दै नयाँ प्रक्रियासुरु गरिएको प्रष्टिकरण दिए ।
पुरानो टेण्डर खारेज गर्दै निगमले उपकरण खरिद र इञ्जिन लिजमा लिन छुट्टाछुट्टै टेण्डर गर्ने निर्णय गरेको थियो । नयाँ प्रक्रिया अनुसार सुरु भएको टेण्डर अनुसार निगमले उपकरण खरीदका लागि शुक्रबार नै टेण्डर खोल्ने तयारी गरेको थियो । तर लेखा समितीको निर्देशनपछि प्रक्रियाअबरुद्ध भएको छ ।
निगमका अनुसार, एयरबस ३२० का लागि इञ्जिन भाडामा लिनको लागी बोलपत्र कागजात तयार हुने क्रममा छ । खरेलले भने टेण्डर केही समय रोकिए पनि निगमलाई खासै असर नपर्ने बताए ।
सांसदहरुको मत
वैठकमा सांसद सूर्य पाठकले निगममा लोडरको काम गर्नेले पनि ‘ठूलाले खाने जहाज, सानाले खाने कागज’ भनेको प्रसङ्ग कोट्याउँदै कम मूल्य कबोल गर्नेलाई छनोट नगर्ने हो भने बोलपत्रको प्रक्रिया किन गरेको भनी प्रश्न गरे ।
सांसद मीना सुब्बाले निगमकै आर्थिक नियमावलीअनुरुप पनि ठेक्का प्रक्रिया अघि नबढेको प्रति टिप्पणी गरिन् । चार कम्पनीले मर्मतका लागि ठेक्का हालेकामा बढी कबोल गर्ने कम्पनीलाई दिने गरी तयारी गरिनु आपत्तिजनक रहेको उनले बताइन् ।
सांसद प्रेम आलेले रु एक अर्ब ५३ करोड राज्यलाई घाटा हुनेगरी जाहाज मर्मत गर्ने कम्पनीको नाम छनोट गर्न नहुनेमा जोड दिए । एउटा विचौलियाले सरकारलाई घुमाएको सुनिएकाले स्विकार्न नसकिने उनको आरोप थियो ।
सांसद विरोध खतिवडाले बोलपत्र आह्वानमै गल्ती भएकाले गल्तीलाई बोर्ड बैठकले उल्टाउने कि व्यक्तिले भनी प्रश्न गरे ।
बैठकमा सांसदहरु लेखराज भट्ट, राजेन्द्रकुमार केसी, पार्वती विसङ्खे, पार्वती डिसी चौधरीलगायतले बोलपत्रका बारेमा थप अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए ।