पीएसएलको पहिलो खेलमै सन्दीपको तीन विकेट
नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् ।
लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका लामिछानेले शुक्रबारको पहिलो खेलमा मुल्तान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् ।
पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओभरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए, जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले कप्तान सोहेब मलिकको विकेट लिए ।
अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका लामिछानेले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्याच आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए ।
२० ओभरमा ६ विकेट गुमाउँदै २०० रनको बिशाल स्कोर बनाएको सुल्तानविरुद्ध अहिले कलन्दर्सले ब्याटिङ गरिरहेको छ ।