पप्पु कन्स्ट्रक्सनको अर्काे कर्तुत, तीनवर्षमा पनि बनेन बागमतीमा पुल
तीनवर्ष ललितपुर महानगरपालिका–२१ मा बागमती नदीमा पुल र पहुँचमार्ग निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले दोहोरो भुक्तानी लिएर काम नगरेको पाइएको छ ।
ललितपुरको साविक कार्यविनायक नगरपालिकाले २८ बैशाख २०७५ मा उक्त कम्पनीलाई खोकना—सौखेल सडक अन्तरगत बागमती नदीमा पहुँच मार्गसहित पुल बनाउन ९ करोड ४१ लाख ७५ हजारमा ठेक्का लगाएको थियो ।
ठेक्काको पहिलो रनिङ विलमा १ करोड ४० लाख ८३ हजार रुपैंयाँ र दोस्रोमा २ करोड १५ लाख १३ हजार रुपैंयाँ भुक्तानी भएको देखिन्छ ।
महालेखा परिक्षकको २०७४ को वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७३/७४ सम्ममा दुईवटा रनिङ विलमा गरिएका भुक्तानीको रकममध्ये ५० लाख ८५ हजार रुपैंयाँ दोहोरो भुक्तानी गरेको देखियो, जुन भुक्तानी लिने कम्पनीबाट महानगरपालिकाले असुल गर्नुपर्ने देखिन्छ । अधुरो निर्माणको एकै ठाँउमा दुईपटक नापेर दोहोरो भुक्तानी भएको देखिन्छ ।
चैत २०७४ देखि ललितपुर महानगरमा मिसिएको साविकको कार्यविनायक नगरपालिका–९ को यो निर्माणस्थल हाल ललितपुर महानगरपालिका अन्तरगत पर्दछ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखित उक्त कम्पनी पप्पु कन्स्ट्रक्सन रहेको बताँउदै ललितपुर–२१ का वडाध्यक्ष राजेन्द्र महर्जन भन्छन्, “हामी उक्त रकम फिर्ता गराउन र निर्माण थालिहाल्न सरकारलाई दबाब दिन्छौं ।”
हाल बागमती नदीको दक्षिणी किनार र खोलाभित्र पुलका दुईवटा पिलरको बेस खडा गरिएको छ । नदीको उत्तरपट्टी भने निर्माण थालिएकै छैन । यही अवस्थामा डेढवर्ष अघि पप्पु निर्माण कम्पनीले काम बन्द गरेको थियो ।
त्यहाँ पुल र पहुँचमार्ग नबन्दा बागमती नदी दक्षिणको दक्षिणकाली नगरपालिकाका करिब १० हजार स्थानीयवासीले काठमाडौंको चक्रपथसम्म आउन कम्तिमा पाँच किलोमिटर बढी दुरी पार गर्दै बल्खु पुग्नुपर्दछ ।
कमसल निर्माण र समयमा ठेक्काको काम पूरा नगर्ने कम्पनीको रुपमा बद्नाम पप्पु कन्स्ट्रक्सन राजनीतिक संरक्षणकै कारण कारवाहीमा नपरेको बताइन्छ ।