पार्टी एकता टुङ्गियोः अध्यक्ष दाहाल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताएका छन् ।
बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित
नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै दाहालले सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको दाबी पनि गरे । अबको समय समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उनले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।
विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका पूर्व्विद्यार्थी, पूर्व्शिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घ संस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गर्दा रु ७० लाख बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।
विद्यालयले रु. डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।
कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले जनाएको छ ।
शिक्षा मन्त्रालयबाट सम्बन्ध प्राप्त लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले जानकारी दिए । –रासस