‘काठमाडौंको बहिष्कारका निर्णय दुर्भाग्यपूर्ण’
धनगढी प्रिमियर लिग (डीपीएल)तेस्रो संस्करणका प्राविधिक समितिका प्रमुख बुद्धि प्रधानले प्रतियोगिता बहिष्कार गर्ने काठमाडौं गोल्डेन्सले निर्णय ‘दुर्भाग्यपूर्ण’ भएको बताएका छन् ।
आफ्ना अलराउण्डर अंकित डबासको बलिङ एक्सन ‘अवैध’ घोषित गरिएपछि काठमाडौंले महेन्द्रनगर युनाइटेडसँगको शुक्रबारको अन्तिम क्वालिफायर खेल बहिष्कार गरेको थियो ।
काठमाडौंको बहिष्कारपछि प्रतियोगिताको फाइनलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया भिड्ने भएका छन् ।
बलिङ एक्सनबारे दुई पटकसम्म उजुरी परे छानबिन गरिने र दोषी भेटिए कारवाही गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)कै नियम बमोजिम काठमाडौंका डबासलाई कारवाही गरिएको प्रधानले बताए ।
आइसीसी मान्यताप्राप्त अम्पायर प्रधान नेपालका सबैभन्दा सफल अम्पायर प्रधानले अन्तर्राष्ट्रिय एक दिवसीय र टि–ट्वेन्टी खेलसमेत सञ्चालन गरिसकेका छन् ।
“छानबिन गर्दा उनको बलिङ एक्सन इलिगल देखियो, त्यसैको आधारमा कारवाही गरिएको हो”, प्रधानले भने, “तर उनले खेल्नै नपाउने भन्ने थिएन, ब्याटिङ र फिल्डिङ गर्न सक्थे ।”
भारत, झारखण्ड राज्यबाट लिष्ट ए र टि–ट्वेन्टी खेलिसकेका डबासले काठमाडौंका लागि भरपर्दा अलराउण्डर थिए ।
काठमाडौंले भने डबासविरुद्धको कारवाही फिर्ता लिनुपर्ने नत्र खेल बहिष्कार गर्ने बताउँदै आएको थियो। तर, प्राविधिक समितिले आफ्नो निर्णय परिवर्तन गरेन ।
डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले पनि प्रतियोगिता बहिष्कार गरेर काठमाडौंको ठिक नगरेको बताए ।
“प्राविधिक समितिले गरेको निर्णय सबैले मान्नुपर्छ, टिमले पनि र आयोजकले पनि”, शाहीले भने, “एउटा खेलाडीको विषयलाई लिएर प्रतियोगिता नै बहिष्कार गर्नु सही थिएन ।”