कला/साहित्यशुक्रबार, १० फाल्गुण , २०७५

न्युड आर्टः शरीर बुझ्ने कला

हिमालखबर

वस्त्रविहीन मानवको चित्र कोर्नु कपिलमणि दीक्षित (४३) को बाल्यकालको रुचि थियो । विस्तारै यो उनको अध्ययन र अहिले पेशा नै बनेको छ ।

काठमाडौं, सुन्धाराका दीक्षितले नेपाल, अमेरिका र अष्ट्रेलियामा समेत गरी १४ पटक एकल न्युड कला प्रदर्शनी गरिसकेका छन् । उनको १५औं प्रदर्शनी ‘५०० न्युड’ ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा शुक्रबारदेखि शुरू भएको छ ।

दुई साता चल्ने उक्त प्रदर्शनीमा दीक्षितले पछिल्लो समय बनाएका ५०० वटा ‘न्युड’ तस्वीर छन् ।

मोडललाई वस्त्रविहीन अवस्थामा अघिल्तिर राखेर कला कोर्नु दीक्षितको शैली हो । अमेरिका लगायतका पश्चिमी मुलुकमा व्यावसायिक मोडलहरू पाइने भएकोले उनलाई न्युड आर्ट गर्न सजिलो हुन्छ । तर, नेपालमा त्यस्ता व्यावसायिक मोडल भेट्न साह्रै गाह्रो हुने उनको अनुभव छ ।

“व्यक्तिगत सम्पर्कमा आएका मोडललाई विश्वास दिलाएर मनाउनुपर्छ, साह्रै अप्ठेरो छ” दीक्षित भन्छन्, “तर न्युड आर्टबारे धेरैलाई चासो छ, यसबारे भ्रम हटाउनुपर्छ ।”


पूर्वीय सभ्यतामा यौनबारेको खुला बुझाइ रहेको टुँडालका कलाकृतिबाट बुझिने तर समाजले यो विषयलाई संकीर्ण बनाएको उनको भनाइ छ । यौन विकृति घटाउन र यौन शिक्षाका लागि शरीरका अंगहरू, तिनका काम एवं उपयोगबारे भद्र तरिकाले ज्ञान दिन यस्तो पेन्टिङले मद्दत पुग्ने उनको दाबी छ ।

“मानिसहरूले ढिलो बुझ्लान्, तर ‘न्युड स्टडी’ जरूरी छ”, उनी भन्छन् ।

अमेरिकाको टेक्सासस्थित डलास काउन्टी कम्युनिटी कलेजबाट ‘न्युड स्टडी’ मा स्नातक गरेका दीक्षितले सन् २०१८ को मार्च–अप्रिलमा अमेरिकाको भरमोण्टमा पनि ५०० न्युड चित्रको प्रदर्शनी गरेका थिए । अहिले ती चित्रहरू डलास फ्याक्ट्री म्युजियम अफ आर्टमा राखिएको उनी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस