बेलायतले भूपू गोर्खा सैनिककाे गुनासाे चाँडै सम्बोधन गर्ने
बेलायतले भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधन छिट्टै गर्ने तयारी गरेकाे छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले बेलायत सरकारले निकट भविष्यमै गुनासा सम्बाेधनकाे तयारी गरेकाे जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्रालयमा आज भएको भेटमा आफूले गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको मन्त्री ज्ञवालीले बताए ।
गोर्खा सैनिकका मागलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन गर्न आफूले जोड दिएको आफ्नो सुझावलाई राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको मन्त्री ज्ञवालीले बताए ।
राज्यमन्त्री ल्याङकेष्टरले बेलायतले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।
भेटवार्तामा नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, बेलायतबाट प्राप्त सहयोग, बहुआयामिक सम्बन्ध र बेलायतप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।