कृषि विकास बैंकले किसानलाई विनाधितो ऋण दिने
गण्डकी प्रदेशमा कृषि विकास बैंकले किसानलाई विनाधितो सहूलियतपूर्ण ऋण लगानी गर्ने भएको छ ।
गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरा बीच कृषि, पशुपालन र मत्स्यपालनका लागि विनाधितो ऋण दिने विषयमा बिहीबार भएको सम्झौता भएको छ ।
सम्झौतामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो सहूलियतपूर्ण ऋण प्रवाह गर्ने उल्लेख छ ।
मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले सम्झौतापत्रमा कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैंकसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ ।
कृषि क्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको मन्त्रालयले जनाएको छ ।
बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने पनि सम्झाैतामा उल्लेख छ ।
मन्त्रालयका सचिव श्रेष्ठले सम्झौताबाट मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिएर कार्यान्वयनमा सहयोग पुग्ने बताए ।
बैंकका निर्देशक सापकोटाले बैंकले यसअघि सहुलियत कर्जामा विनाधितो लगानी नगरेको र यसपछि पाँच प्रतिशत ब्याजदरमा लगानी गरिने बताए । -रासस