घाइते प्रदेशसभा सदस्य ओलीको निधन
प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उनको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङको चिसापानीमा दुर्घटनामा परी घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेहा ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडौंमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ लैजाने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।
प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने प्रदेशसभा सचिव पुनले जानकारी दिए ।
ओली पूर्व नेकपा एमालेबाट उम्मेदबार भई दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।