दुई जनाले मात्र बोल्ने भाषा !
‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । तर, सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् ।
८२ वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा ।
दाङको कुलमोडकी ज्ञानीमैयाँ र मसोट खोलाकी कमला कुसुण्डा भाषाको एक मात्र स्रोता हुन् । “थोर धेर बोल्नेहरु छन, तर कुसुण्डा भाषाको विज्ञको रुपमा सिङ्गो समुदायमा दुई जना महिला मात्र हुन्”, कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा भन्छन् । “अलि अलि यो भाषा जान्नेहरु पनि दैनिक बोल्दैनन्, बोल्ने अवसर पनि हुँदैन, किनकि यो भाषा अरुले बुझ्दैनन् ।”
यो भाषा जान्ने व्यक्ति घट्दै जानु र नयाँ युवा पुस्ताले सिक्न नसक्नुको साथै सिक्ने वातावरण नहुँदा यो भाषा अहिले सङ्कटमा परेको छ । “देशभर १५/२० घरधुरी कुसुण्डा छन्, उनीहरु फरक फरक स्थानमा बस्ने भएका कारण भाषा संरक्षणमा समस्या भएको छ”, धनबहादुर भन्छन् ।
सरकारले आफूहरुलाई एकै स्थानमा बस्ने वातावरण मिलाए कुसुण्डा समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण हुने कुसुण्डा समुदायका जानकार उदयराज आले बताउँछन् । “यो भाषा केही महीना सिकेर हुँदैन, धेरै कठिन भाषाको रुपमा कुसुण्डा भाषालाई लिने गरिएको छ”, उनी भन्छन्, “यो भाषाका लागि सधैँ बोल्ने र अभ्यास चाहिन्छ ।”
जङ्गलमा बाबुआमाबाट सिकेको भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेपछि भाषा नै सङ्कटमा परेको अनुसन्धानकर्मी आले बताउँछन् । कुसुण्डाहरु गाउँमा बसेपछि नेपाली भाषा नै बोल्न थाले । पहिले भाषाको महत्व थाहा भएन, जति बेला थाहा भयो, अहिले ढिलो भैसक्यो, कुसुण्डा भाषामा कसैले चासो दिएन । समुदायमा यो भाषा जतिले जानेका छन्, त्यसैमा सीमित भएको छ । कुसुण्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २७३ कुसुण्डा छन् ।
ज्ञानीमैयाँलाई भाषा लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता छ । “हामी त अब मर्ने बेला भैसक्यो, हाम्रो समयपछि यो भाषा जान्ने कोही छैनन्, नयाँ केटाकेटी सिक्नै मान्दैनन्”, उनी भन्छिन्, “ठाउँठाउँमा मलाई बोलाउनुहुन्छ, जान्छु, अहिले सबैले चासो त दिनुभएको छ तर सिक्ने काम भएको छैन ।”
कहिल्यै नसुनेका शब्दलाई कण्ठस्थ पार्नुपर्ने र कठिन भाषा दैनिक रुपमा बोलचाल नहुने भएपछि सिक्नेहरुलाई समेत समस्या भएको ज्ञानीमैया बताउँछिन् । “जातिको पहिचान बचाउनका लागि पनि कुसुण्डा भाषा सिक्नैपर्ने बाध्यतामा छौँ”, धनबहादुर भन्छन् ।
समुदाय आफैँ लोपोन्मुख अवस्थामा रहेकाले समुदायको भाषा लोप हुने अन्तिम खतरामा रहेको कुसुण्डा भाषाको अनुसन्धानकर्ता तथा साहित्यकार टीकाराम उदासी बताउँछन् । भन्छन्, “कुनै पनि भाषासँग नमिल्ने भएका कारण पनि यो भाषा सिक्न धेरै गाह्रो छ ।”
केही अनुसन्धानकर्ताले शब्द, अर्थ र भाषाको विषयमा पुस्तक भने प्रकाशन गरेका छन् ।
भाषा संरक्षणमा चासो
लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षणका लागि सरकारी तथा व्यक्तिगत प्रयास पनि भएका छन् । कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तक प्रकाशित छन् । देशविदेशबाट आएका व्यक्तिले समेत यो भाषाको अध्ययन गर्दै आएका छन् ।
कुसुण्डा जातिको शब्दकोष तयार पारेर अनुसन्धानकर्मी आलेले ‘कुसुण्डा जाति र शब्दकोष’ प्रकाशन गरेका छन् । आलेले पाँच वर्षको अध्ययनअनुसन्धानबाट पुस्तक तयार पारिएको बताउँछन् । कुसुण्डा समुदायको भाषासंस्कृतिको संरक्षणमा व्यक्तिगत रुपमा अनुसन्धान गरेर लेखिएको पुस्तक थप अध्ययनअनुसन्धानका लागि विद्यार्थीका लागि सहज हुने उद्देश्यले प्रकाशन गरिएको लेखक आले बताउँछन् ।
लोप हुन लागेको कुसुण्डा भाषा बचाउन भाषा आयोग नेपालले समेत चासो दिएको छ । उसले कुसुण्डा भाषालाई बचाउनका लागि दाङको लमहीमा गत पुसमा कुसुण्डा भाषाको कक्षासमेत सञ्चालन गरेको थियो । सबै कुसुण्डासम्म भाषा पुर्याउने उद्देश्यले सञ्चालित कक्षामा कुसुण्डा समुदायका २० महिला पुरुष दाङ जिल्लाका साथै प्युठान र सुर्खेतबाट समेत सहभागी भएका थिए ।
नेपालमा बोलिने १२३ भाषामध्ये ३७ भाषा संरक्षण गर्नुपर्ने अवस्थामा छन् भने तीन भाषा लोपोन्मुख छन् । सङ्कटमा रहेका दुरा, तिलुङ र कुसुण्डा भाषाको संरक्षणका लागि कक्षा सञ्चालन भएको आयोगका अध्यक्ष डा लवदेव अवस्थी बताउँछन् । –नवीन नेपाली/रासस