कला/साहित्यबिहिबार, ९ फाल्गुण , २०७५

‘के मान्छेको जीवन यति सस्तो थियो ?’

फोटोेमा युद्धका कथाहरु

सविना देवकोटा

‘यो युद्ध हुँदा त म जन्मिएकै थिइनँ,’ द्वन्द्वकालमा विभिन्न कारणले अपांग हुन पुगेका साक्षीहरुको कथा र फोटो हेरिसकेपछि १४ वर्षीय आरोन मल्लको प्रतिक्रिया हो, यो ।

प्रदर्शनीमा राखिएका फोटोकथा र अडियोसँगसँगै उपस्थित पीडित स्वयम्को भोगाइ प्रत्यक्ष सुनिसकेपछि नेपालको इतिहासप्रति जिज्ञासु बनाएको १३ वर्षीया जिज्ञासा कार्की भन्छिन्, ‘सरकारले किन केही नगरेको होला ? के मान्छेको जीवन यति सस्तो थियो र ?’

यस्तै विविध प्रश्न, अन्तक्र्रिया र भावनात्मक परिवेशकाबीच ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको प्राङ्गणमा ‘१४ युद्धका कथाहरु’ शीर्षकमा फोटोकथा प्रदर्शन भइरहेको छ ।

मकैबारीमा गोड्मेल गर्दैगर्दा गोलीका छर्राले दृष्टि गुमाएका कालिकोटका १९ वर्षीय आनन्द पाण्डे, बाख्रा चराउन जंगल जाँदा भेटिएको प्लास्टिक खेलाउँदै गर्दा दुवै हात गुमाउन पुगेका म्याग्दीका ३२ वर्षीय सुरेन्द्र खत्री, माओवादीले सुराकी आरोपमा बञ्चरोले हानेर दुवै खुट्टा गुमाएका बर्दियाका अशोक सोडारीलगायत १४ जना पीडितको फोटोकथाले प्रदर्शनीलाई ऐतिहासिक बनाइदिएको छ ।

फोटोकथा छेवैमा उभिएका पीडित स्वयम्को मुखारविन्दबाट सुन्न पाइने पीडाले प्रदर्शनीलाई थप जीवन्त बनाएको एलिसा पाठक बताउँछिन् ।

२०५२ सालदेखि ०६३ मंसीरसम्म चर्केको दशक लामो हिंसात्मक माओवादी–सरकार द्वन्द्वमा १७ हजारभन्दा धेरैले ज्यान गुमाए, १३ सय ५० भन्दा धेरै बेपत्ता पारिए । हजारौं घाइते भए, लाखौं विस्थापित भए ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १२ वर्ष र सत्य निरुपण तथा मेलमिलाप आयोगको स्थापना भएको ३ वर्ष बितिसक्दा पनि पीडितहरु युद्धले दिएको घाउसहित अझैं बाँचिरहेका छन् ।

द्वन्द्वपीडितभित्र पनि बलात्कृत र अपांग भएकाहरुले थप पीडित भएको द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री भन्छन्, ‘हाम्रो आवाज नपुग्नुको कारण हामी संगठित नभएर पो रहेछ भन्ने लागिरहेछ ।’ आयोगका छानविन प्रक्रिया पनि अपांगता मैत्री हुनुपर्ने उनको भनाइ छ ।

७ फागुनदेखि शुरु यो फोटो प्रदर्शनी ११ गतेसम्म चल्नेछ । प्रदर्शनीमा विविध अन्तक्र्रियात्मक कार्यक्रम पनि छन् । साझा चौतारी र अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले प्रदर्शनी संयुक्त रुपमा आयोजना गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस