कला/साहित्यबिहिबार, ९ फाल्गुण , २०७५

नेपाली साहित्य समावेशीः माइकल हट

हिमालखबर

स्कूल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (एसओएएस), युनिभर्सिटी अफ लण्डनका प्राध्यापक माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका अध्येता हट राम्रो नेपाली बोल्छन् ।

‘नेपाली भाषा र यसको साहित्य’मा विद्यावारिधि गरेका हट आधुनिक र समसामयिक नेपाली साहित्य, नेपाली डायस्पोरा, मिडिया, कला र साहित्य, भुटानी शरणार्थी आदि विषयमा रुचि राख्छन् । उनले ‘लाइफ अफ भूपी शेरचन, पोएट्री एण्ड पोलिटिक्स इन पोष्ट–राणा नेपाल’, ‘नेपाल इन नाइन्टिज’ जस्ता कृतिका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदन लीलबहादुर क्षत्रीको बसाइँ उपन्यास आदि नेपालीमा अनुवाद गरेका छन् ।

‘गोरखा भूकम्प’पछि हट अहिले प्राकृतिक प्रकोपको परियोजनामा काम गररहेका छन् । यो परियोजनामा उनीसँगै इतिहासकार योगेशराज मिश्र, जीवन बानियाँ (नेपाल), मार्क लिच्टी (अमेरिका), जोन ह्वेप्टन (बेलायत) र स्टेफ्यानी लोटोर (जर्मनी) संलग्न छन् । तीन वर्षको यो परियोजना अर्को वर्ष सकिँदैछ ।

“परियोजनामा भूकम्पले नेपाली संस्कृति, सम्पदा, पुनःनिर्माण, संरक्षण, समाज र राजनीतिक प्रक्रियामा पारेको असरबारे अध्ययन हुनेछ ”, उनले भने ।

यसका लागि हटले भूकम्पसम्बन्धी कृति र छ–सात वटा साहित्यिक पत्रिकाका भूकम्प विशेषाङ्क पनि संकलन गरिरहेका छन् । भूकम्पसम्बन्धी करीब ३०० कविता पढिसकेका हटले ती कवितामा खासगरी मानिसका दुःख, ग्लानि, क्रोध, समानता, सङ्कल्प, आशाजस्ता विषयवस्तु पाइएको
बताए ।

दश, पन्ध्र वर्षका बीचमा नेपाली साहित्यका पाठक निकै बढेको र पत्रकारहरुले पनि साहित्य सिर्जना गर्न थालेको जस्ता कुरा परिवर्तनका मुख्य विषय हुनसक्ने हटको बुझाइ छ । महिला, जनजाति र दलित समुदायबाट आएकाहरुले लेख्न थालेको बताउँदै उनी भन्छन्, “लेखक र पाठक दुवैमा समावेशीकरण भएको छ ।” 

हटले भर्खरैमात्र बुद्धिसागर लिखित उपन्यास कर्णाली ब्युज को अनुवाद सिध्याएका छन । र, योसँगै भूकम्पसम्बन्धी केही कविताका अनुवाद प्रकाशनको तयारी गरिरहेका छन् । पाठकको मुटु छुने क्षमता नेपाली लेखकमा भए पनि धेरैजसो नेपाली लेखकले नेपाल बाहिर चर्चा पाउन नसकेको उनी स्वीकार्छन ।

हट सन् १९९० मा मायालु, दयालु र कलात्मक जीवन बिताएको मध्यम वर्गले सामाजिक–राजनीतिक जटिलता भोगेको कथा बोकेको श्रद्धा घलेको द वेवार्ड डटरः अ स्टोरी अफ काठमाडौँ पुस्तक निकै राम्रो भएको उनको ठम्याइ छ । “अनुवाद भएमा निकै कृति चर्चित हुने सम्भावना छ”, उनी
भन्छन् ।  –श्याम रिमाल/रासस

प्रतिकृया दिनुहोस