गाविसलाई नै गाउँपालिका मानेर निर्वाचनमा जाउँः कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताएका छन् । नेपाल प्रेस युनियन, दाङले ७ मंसिरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।
कोइरालाले भने, “सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका काँग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ ।” देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको समेत कोइरालाको भनाई थियो ।
नेता कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको उल्लेख गरे ।
कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्नेमा उनको जोड थियो । साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने कोइरालाको सुझाव थियो ।रासस