पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने
नेपाल पत्रकार महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था गर्न लागेको छ ।
आजदेखि पोखरामा शुरु हुने केन्द्रिय साधारणसभा तथा विधान अधिवेशनले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्न लागेको हो ।
साधारण सभामा महासंघको आन्तरिक पुनरसंरचना र प्रेस स्वतन्त्रताका महत्वपूर्ण विषयमा विधान संसोधन प्रस्ताव पेश गर्ने तयारी रहेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । भोली त्यस विषयमा छलफल गरी पारीत गरीने उनको भनाई छ ।
‘हामीले प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था सहितको विधान संसोधन प्रस्ताव पेश गर्ने तयारी गरेका छौँ’, अध्यक्ष आचार्यले भने, ‘साधारणसभाले पास गर्यो भने आगामी निर्वाचनदेखि हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखाका नेतृत्वका लागि मतदान गर्न सक्ने व्यवस्था हुने छ ।’
देशमा राजनीतिक पुनरसंरचना भएसंगै पत्रकार महासंघ पनि पुनरसंरचनाको चरणमा रहेको आचार्यले बताए । ‘विधान संसोधन प्रस्ताव पारीत भयो भने यो साधारण सभा महासंघको महासंघको आन्तरिक जीवन बदल्न महत्वपूर्ण हुने छ’, उनले भने ।
साधारण सभामामा विधान संसोधनका साथै महासंघको डेढ वर्षको समिक्षा गर्दै आगामी कार्ययोजना समेत तय गरीने बताइएको छ ।
श्रमजीवी पत्रकारको हक अधिकार, स्वरोजगारमुलक मिडियाको संरक्षणका लागि नीति ल्याउन राज्यलाई दवाव, प्रेस स्वतन्त्रता विरोधी काुननको विरोध र प्रेस स्वतन्त्रताको मापदण्डको परिभाषा लगायतका क्षेत्रमा पनि यो साधारणसभा महत्वपूर्ण हुने महासंघले जनाएको छ ।
दुई दिनसम्म चल्ने साधारण सभामा पत्रकार महासघका सभाषद र प्रतिनिधीगरी देशभरबाट १५ सयभन्दा बढी पत्रकार सहभागी हुनेछन् ।
पोखराको सभागृहमा हुने सधारण सभाको दिउँसो तीन वजे प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महाराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा लगायतले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।
साधारणसभामा उद्घाटनपछि गण्डकी प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन वर्ष २०१९ को घोषणाका र साँझ सातै प्रदेशका सांस्कृतिक झाँकी कार्यक्रम पनि देखाइनेछ ।