नेकपा एकता टुट्दैन, फुट्दैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताएका छन् ।
नेकपाद्वारा बुधबार धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर नफुट्ने दाबी गरे ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै ओलीले भने, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।”
प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ नेपाल निर्माणका लागि दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नदेखेर एकता गरिएको स्पष्ट पार्दै एकता प्रक्रियाले छिटोभन्दा छिटो पूर्णता पाउने दाबी गरे ।
‘‘अहिले नेकपालाई प्राप्त जनविश्वास गुम्यो भने यो राष्ट्र र कम्युनिष्ट पार्टीका लागि गम्भीर दुर्घटना हुनेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने ।
उनले पार्टी एकता भाँड्न र सरकार असफल बनाउन चाहने शक्तिबाट सचेत भई काम गर्नुपर्नेमा जोड दिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कहिल्यै पनि अधिनायकवादमा जाँदैन भन्दै जनताको मन र विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । नयाँ नेपाल बनाउनका लागि नयाँ सोच, चिन्तन र दृष्टिकोणका साथ काम गर्न आवश्यक रहेको नेपालको भनाइ थियो ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले दुई कम्युनिष्ट पार्टीको एकताले केही शक्ति सलबलाएको उल्लेख गर्दै एकताविरुद्ध भइरहेका षडयन्त्रबाट सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका नेता भीमबहादुर रावल, कर्णबहादुर थापा, लेखराज भट्ट, माया भट्टलगायतले बोलेका थिए । –रासस