गण्डकीमा ६४० जना मानवअधिकार पीडितः इन्सेक
गण्डकी प्रदेशमा सन् २०१८ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीबाट ६ सय ४० जना पीडित बनेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंगलबार ‘मानवअधिकार वर्ष पुस्तक २०१९’ सार्वजनिक गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।
प्रदेशको मानवअधिकार अवस्था सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले तिमध्ये राज्य पक्षबाट ७३ जना र गैरराज्य पक्षबाट ५ सय ६७ जना पीडित भएको बताए ।
उनका अनुसार, गत वर्ष राज्य पक्षबाट एक सय १३ जना र गैरराज्य पक्षबाट सात सय ३३ महिला र ५९ जना पुरूष गरी नौ सय पाँच जना पीडित भएका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संक्रमणकालिन न्याय निरूपणको पाटो संवेदनशील भएकाले सबै पक्ष एकजुट हुुनुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले ‘नेपाल मानवअधिकार बर्ष पुस्तक’ मानवअधिकार ऐना भएको बताउँदै पुस्तकलाई आधार मानेर मानवअधिकार प्रत्याभूति गरिनुपर्ने धारणा राखे ।
युवराज श्रेष्ठ, पोखरा