रोहित पुनःपर्सिजाबाटै खेल्ने
राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा पुनःअनुबन्धित भएका छन् ।
रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।
इण्डोनेशियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ‘ट्रायल’का लागि प्रयास गरिरहेका थिए । तर, पर्सिजाले गत वर्षभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा बस्न सहमत भएका हुन् ।
“आकर्षण तलब सुविधासहित पुनःपुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु”, रोहितले भनेका छन् ।
क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित बिहीबार बेलुका इण्डोनेशिया जाँदैछन् । उनी करीब दुई महीनादेखि नेपालमा थिए । पछिल्लो समय क्लब र रोहितबीच सेवा सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन ।
लिग च्याम्पियनका रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्दैछन् । अनुबन्धको प्रक्रिया पूरा गर्न रोहित बिहीबार नै इण्डोनेशिया जान लागेका हुन् । उनले खेल्ने इण्डोनेशियाको लिग भने आगामी अप्रिलमा मात्र शुरु हुनेछ । –रासस