डीपीएलः उत्कृष्ट प्रदर्शन गर्दै अत्तरिया पहिलोपटक फाइनलमा
लगातार दोस्रो दिनको खेलमा उही प्रतिस्पर्धी काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार लिगको पहिलो क्वालिफायर खेलमा अंकतालिकामा शीर्ष अत्तरियाले दोस्रो स्थानमा रहेको काठमाडौंलाई पुनः निराश तुल्याएको हो । मंगलबारको पहिलो चरणको अन्तिम खेलमा पनि अत्तरियाले सात विकेटले हराएको थियो ।
अत्तरिया डीपीएलको तीनवर्षे इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको हो । सन् २०१८ मा चौथों बनेको यो टिम २०१७ मा छैटौंमा खुम्चिएको थियो ।
निराश काठमाडौंको उपाधि यात्रा भने सकिएको छैन । काठमाडौंले फाइनल प्रवेशका लागि रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडको विजेतासँग खेल्नुपर्नेछ ।
टस जितेर ब्याटिङमा आएको अत्तरियाले आठ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अत्तरियाका लागि एकपटक फेरि कप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । उनीसँगै अर्का अलराउण्डर सन्नी पटेलले २८ रन जोडे । ओपनर शुभेन्दु पाण्डेले थोरै सम्हालिएर खेल्दा १६ र जयकिसन कोल्सावालाले १३ रन बनाए ।
अमित डबास र सूर्य तामाङले काठमाडौंका लागि दुई, दुई विकेट लिँदा योगेन्द्रसिंह कार्की र रसिद खानले अर्को एक, एक विकेट लिए । रसिदले अन्तिम ओभरमा सन्नी पटेललाई क्याचआउट, भुवन कार्की र सन्दिप जोरालाई रन आउट गराउँदा अत्तरिया ११० रनमा समेटिएको थियो ।
तर, १११ को सामान्य लक्ष्यलाई काठमाडौंले सदुपयोग गर्न सकेन । ओपनर अनिल साह र महबुब आलम क्रमशःशून्य र एक रनमा आउट भए । मध्यक्रमका गौरव तोमरले सर्वाधिक २६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११, ११ रनमा पेभेलियन फर्किए ।
अत्तरियाका लागि सन्नीको साथ फेरि पनि फाप्यो । उनले तीन विकेट लिए । भुवन कार्की र कमलसिंह ऐरीले दुई, दुई विकेट लिए । कप्तान दीपेन्द्रसिंहले पनि एक विकेट नाममा लेखाए ।
२८ रन र तीन विकेटको विशेष प्रदर्शनपछि अत्तरियाका सन्नी पटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।