जुनसुकै समयमा पुनःअनसन थाल्ने डा.केसीको चेतावनी
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सूधारका अभियन्ता डा. गोविन्द केसीले सरकार पूर्वसहमति बेगर अघि बढे जुनसुकै बेला आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दैै डा.केसीले गण्डकी मेडिकल कलेजलगायत अन्य कलेजमा विद्यार्थीसँग उठाईएको चर्को शुल्कमा सरकारको मौनता, अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कारवाहीको साटो राजीनामा दिन लगाइनु, संसदमा दर्ता शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकप्रति आपत्ति प्रकट गर्दै अनसनको चेतावनी दिएका हुन् ।
उनले प्रबुद्ध नागरिक समाजका सदस्यहरुको आग्रहमा १६ औं अनसनको कार्यक्रम केही समय स्थगित गरिएको जनाउँदै चिकित्सा शिक्षा विधेयकमा १५ औं सत्याग्रहको बेला भएका सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो भन्दै केसीले कलेज संचालकलाई फौजदारी कडा कारवाहीको माग गरेका छन् ।
विज्ञप्तिमा केसीले चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी दुई वर्ष पहिले नै आफूहरुले महाभियोग लगाउन माग गरिएका अख्तियारका आयुक्त पाठकको घुस प्रकरण थाहा पाएर पनि प्रधानमन्त्री खड्गप्रसाद ओली गुपचूप रहेको आरोप लगाइएका छन् । पाठकलाई राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना भएको केसीको भनाइ छ ।
यसक्रममा केसीले पदीय दुरुपयोग गरी हटाइएका तर कारवाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की र सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कारवाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा उल्लेखित तीन बूँदामध्ये तेस्रोमा केसीले संसदमा दर्ता शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा छ । “हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुनबाट बञ्चित गर्नुका साथै वाक् स्वतन्त्रताबाट समेत वञ्चित हुने देखिन्छ। जनताले तिरेको करबाट तलब, भत्ता खाएर नागरिकको अधिकार खोसेर सरकार निरकुंश बन्न खोज्दैछ”, विज्ञप्तिमा भनिएको छ ।
केसीले मुलुकमा भइरहेको यस्तो भद्रगोलको जिम्म्मा जननिर्वाचित कार्यकारी प्रमुखको नाताले प्रधानमन्त्री ओलीलगायत शीर्षस्थ नेताले लिनुपर्नेमा जोड दिएका छन् ।