प्रदेश सांसदलाई विकासका नायक बन्न प्रधानमन्त्रीकाे आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्यलाई विकासका नायक बन्न आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले उनीहरलाई अभियानकामी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु २८ अर्ब ८४ करोड छुटयाइएको बताउँदै उनले सुुदूरपश्चिमलाई छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गर्न पनि प्रदेशसभासद्लाई आग्रह गरे ।
प्रधानमन्त्री अोलीले पहिलो वर्ष नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेकोले अब जनता शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भन्दै तीनै तहका सरकार मिलेर विकासका काम अघि बढाउनुपर्ने बताए ।
सूदुरपश्चिममा औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि जग्गाको सहजता मिलाइदिन पनि प्रदेश सभालाई आग्रह गरे ।
पर्यटकको आकर्षण, विद्युत् र सिँचाइको सम्भावना रहेकोले सुदूरपश्चिम प्रदेशमा तीव्र विकासको सम्भावना सम्भावना रहेको प्रधानमन्त्री ओलीको भनाई छ । "कानूनी जटिलता फुकाउन र आवश्यक बजेट व्यवस्था गर्न स्थिर सङ्घीय सरकार तपाईँको साथमा छ ,” उनले भने ।
पञ्चेश्वर परियोजनाका विषयमा छिमेकबाट औपचारिक रुपमा ‘हुन्छ हुन्छ’ भन्ने तर अनौपचारिक रुपमा नाफाघाटाको कुरा आइरहेकाले ढिलासुस्ती भइरहेको प्रधानमन्त्री ओलीले बताए ।
उनले निर्मला पन्त बलात्कार पछिको हत्या काण्डका अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहे पनि पत्ता लाग्न नसक्नु दुःखद हो भन्दै पत्ता लगाएरै छाडिने दोहोर्याए ।
युद्धका घाउमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन सरकार लागिरहेको भन्दै घाउ कोट्यायाएर अशान्ति हुने काम गर्न दिन नहुने बताए ।
‘अब क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन, जनतामा आतङ्क फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन,’ प्रधानमन्त्री अोलीले भने ‘नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहुँदैन ।” - रासस