हिरो मोटोकर्पका तीन मोटरसाइकल सार्वजनिक
हिरो मोटोकर्प लिमिटेडले नेपाली ग्राहकलाई लक्षित गरेर तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ६ मंसिरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्प्लेण्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेण्डर १२५ सार्वजनिक गरेको हो ।
स्प्लेण्डर आइस्मार्ट ११० भारतको जयपुर शहरस्थित हिरोको सेण्टर अभ इनोभेसन टेक्नोलजीमा डिजाइन गरेर बनाइएको पहिलो बाइक भएको कम्पनीले जनाएको छ।
यो ११० सिसी क्षमताको टर्क एण्ड डिमाण्ड इंजिनबाट सञ्चालन हुन्छ । यसको इंजिनमा आइ३एस (आइडल स्टप स्टार्ट सिष्टम) नामक प्याटेण्टेड प्रविधि जडित छ। यो मोटरसाईकल चाँदी र कालो, रातो र कालो, निलो र कालो तथा रातो (स्पोर्टस् रेडमा) रंगमा उपलब्ध छन्। यसको मूल्य रु. एक लाख ६६ हजार छ ।
१२५ सिसीको स्प्लेण्डरको आइ३एस प्रविधिजडित सुपर स्प्लेण्डरको बडीमा विभिन्न रोमांचक र आधुनिक आकृतिहरू कुदिएका छन्। सुपर स्प्लेण्डरको मूल्य रु. एक लाख ७६ हजार छ ।
न्यू अचिभर १५० युवा पुस्तालाई ध्यानमा राखी निर्माण गरिएको मोटरसाईकल हो। एअर–कुल्ड सिलिण्डर, फोर स्ट्रोक इंजिनले अधिकतम १३.६ पिएस अर्थात् १० किलोवाटको शक्ति दिने कम्पनीले जनाएको छ । यसको मूल्य रु. दुई लाख तीन हजार निर्धारण गरिएको छ ।