कर्णालीमा मानवअधिकार उल्लङ्घनका घटना बढे : इन्सेक
कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । ७ फागुनमा वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले विभिन्न घटनामा ३५३ महिला र १४९ पुरुष पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले घटनामा महिला बढी प्रभावित भएको बताए ।
सार्वजनिक तथ्यांक अनुसार एक वर्षमा कर्णाली प्रदेशमा २७ जनाको हत्या भएको छ । ईन्सेकका अनुसार महिला अधिकार हननका २५७, बाल अधिकार हनन ८७ र कुटपिटका ४७ घटना भएका छन् ।
ति घटनामा ६ जना घाइते, अमानवीय व्यवहारबाट चार जना , जातीय विभेदबाट १४, धम्कीबाट १० जना पीडित भएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले मानवअधिकार उल्लङ्घनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने बताइन् ।
मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको मात्र कार्यान्वयन गर्न सकेमा धेरै हदसम्म हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार उल्लङ्घनको अवस्था भयावह रहेको भन्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु मानवअधिकार हननको घटना भएकाले यसको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । - रासस