आहा रारा गोल्डकपमा दुई विदेशीसहित १० टोली सहभागी हुने
पोखराको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।
पोखरालाई खेलकूद शहरका रुपमा स्थापित गराउने उद्देश्यले फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ ।
शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् ।
धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डिफेन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए । ।
“विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिताको समय १० दिनमात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो”, उउनले भने ।
उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर, उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु १५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए ।
सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार र प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्येबाट एक जनालाई एक थान एलजी टेलिभिजन प्रदान गरिनेछ ।
सहाराले प्रतियोगिताबाट बचत रकम पोखरा–१७ दोविल्लामा सञ्चालित ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । देशका विभिन्न जिल्लाका असहाय र गरीब बालबालिकालाई एकेडेमीमा राखेर क्लबले शिक्षाका साथसाथै फुटबल सिकाउँदै आएको छ । -रासस