रिपोर्टबुधबार, ८ फाल्गुण , २०७५

बेकामे बाल भिटा

सविना देवकोटा

बाल भिटा जस्ता पोषणयुक्त आहार नेपालमा अव्यावहारिक सावित भइसक्दा पनि स्वास्थ्य मन्त्रालयले यस्ता पुरिया वितरणको कार्यक्रम जारी राखेको छ।

१९ महीने छोरा क्रिस्टलको स्वास्थ्यमा कुपोषणका कारण जटिलता आएपछि काठमाडौं, कोटेश्वर बस्ने प्रतीक्षा पासवान दम्पतीले उनलाई गएको असोजमा ललितपुरको सुनाकोठीस्थित पोषण पुनस्र्थापना केन्द्र पु्‍र्‍याए।

७ किलो तौलका क्रिस्टललाई कुपोषणका कारण हाइपर्टेन्सन पनि थियो, उनी अस्वाभाविक रूपमा छटपटाउँथे। करीब दुई महीना केन्द्रमै राखेर उपचार गरेपछि क्रिस्टल बाबुआमासँगै घर फर्किएका छन्। केन्द्रमा रहँदा स्वास्थ्यकर्मीको रेखदेखमा करेसाबारीमै उब्जाइएका तरकारी र पौष्टिक आहार ख्वाएपछि क्रिस्टलको तौल बढ्यो, उनी तन्दुरुस्त भए।

गएको २१ वर्षदेखि कुपोषित बालबालिकालाई केन्द्रमै राखेर उपचार गर्दै आएको पोषण पुनस्र्थापना केन्द्रकी व्यवस्थापक सुनिता रिमाल भन्छिन्, “बालबालिकालाई अभिभावकसँग केन्द्रमै राखेर तरकारी र घरेलु खाना ख्वाउँछौं। आमाहरूलाई पनि सन्तुलित खाना बनाउन र ख्वाउन सिकाउँछौं।”

बालबालिकामा देखिने कुपोषण हटाउन परम्परागत खाना सन्तुलित तरिकाले ख्वाउनु नै उपयुक्त हुने भएपछि गैरसरकारी संस्था नेपाल युथ फाउण्डेसनले ललितपुर लगायतका जिल्लामा १७ वटा पोषण पुनस्र्थापना केन्द्र स्थापना गरेको थियो।

जसमध्ये १५ वटा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, एउटा हस्तान्तरणको प्रक्रियामा छ भने सुनाकोठीस्थित केन्द्र, फाउण्डेशन आफैंले सञ्चालन गरिरहेको छ।

सरकारलाई हस्तान्तरण गरिएका केन्द्रहरू स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सञ्चालन गरिरहेको छ। यी बाहेक सरकारले पर्वत र सिन्धुपाल्चोकमा पनि पोषण पुनस्र्थापना गृह स्थापना गरेको छ।

पोषण केन्द्रले बालबालिकालाई घरमै उपलब्ध हुने परम्परागत खाना ख्वाएर ठीक पारिरहेको भए पनि सरकार यस्ता केन्द्रको विकास र विस्तार गर्नुको साटो पोषणतत्वयुक्त पुरिया वितरणका काममै अल्झिंदा कुपोषणको समस्या समाधान हुन नसकेको पोषणविद् तथा बालरोग विशेषज्ञहरू बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती भन्छिन्, “बाल भिटा जस्ता सूक्ष्म पोषकतत्व भएका पूरक आहार युद्धग्रस्त क्षेत्रमा आपतकालीन अवस्थामा निश्चित समयका लागि बाँड्ने गरिन्छ। नेपाल जस्तो अन्नबालीले सम्पन्न राष्ट्रमा यसको आवश्यकता नै छैन।” २०७२ सालको विनाशकारी महाभूकम्पमा समेत पूरक आहारको आवश्यकता नपरेको उनी बताउँछिन्।

 अव्यावहारिक पूरक आहार
विभिन्न साझेदार र अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा सरकारले वितरण गरिरहेको बाल भिटा, ‘रेडी टू युज थेरापेटिक फूड– आरयूटीएफ’ जस्ता आपतकालीन आहारको नेपालमा आवश्यकता नरहेको पोषण पुनस्र्थापना केन्द्रको अनुभवले सिकाएको व्यवस्थापक रिमाल बताउँछिन्।

भन्छिन्, “हामी घरमै उपलब्ध हुने दाल, तरकारी र गेडागुडी खुवाएर बालबालिकाको सफल उपचार गरिरहेका छौं।”

बाल भिटा १५ प्रकारका भिटामिन र खनिजतत्व मिश्रित पीठोयुक्त पुरिया हो। यो ६ महीनादेखि दुई वर्ष मुनिका बालबालिकालाई घरमै तयार पारिएको जाउलो, लिटो वा दालभातमा मिसाएर ख्वाइन्छ। सन् २००९ देखि संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) को सहयोगमा ३२ जिल्लामा बाल भिटा वितरण भइरहेको छ।

त्यसो त बाल भिटा पौष्टिक पीठो नै हो। तर, सहजै उपलब्ध हुने परम्परागत पोषिलो खाना ख्वाउने कि पुरियाको धूलो ख्वाउने भन्ने प्रश्न उठ्ने हुँदा यस्ता पूरक आहारको दीर्घकालीन प्रयोजन नहुने विज्ञहरू बताउँछन्।

तीन चरण गरी ख्वाउनुपर्ने हुँदा अधिकांश बालबालिकाले बाल भिटा रुचाउँदैनन्। बालबालिकाले नै खान नमानेपछि त्यसको उपयोगिता नभएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

बाल भिटा वितरण भइरहेका जिल्लामा बालबालिकालाई खोप लगाउँदा, पोलियो थोपा ख्वाउँदा पुरिया भिडाउने चलन छ। काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्के भन्छिन्, “हामीले बाल भिटा को स्टक नराख्नकै लागि भिटामिन ‘ए’ क्याप्सुल बाँड्ने गरेका छौं।” बच्चाहरूले खान मन नगर्ने, खाएपछि झडापखाला लाग्ने गुनासो आएको मास्केको अनुभव छ।

बाल भिटा निश्चित चक्र अनुसार नख्वाउँदा समस्या आएको युनिसेफ नेपालका पोषण प्रमुख प्रद्युम्न दाहाल बताउँछन्। पुड्कोपन हटाउने, शिशु आहारमा विविधता व्यवस्थापन गर्ने र बालबालिकामा रक्तअल्पता घटाउने उद्देश्यका साथ सन् २००९ देखि बाल भिटा वितरण शुरू गरिएको दाहालको भनाइ छ। रक्तअल्पता घटाउने भनिए पनि बालबालिकामा यो समस्या कम हुनुको साटो बढिरहेको छ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार सन् २०१२ मा पाँच वर्षमुनिका ४६ प्रतिशत बालबालिकामा रक्तअल्पता देखिएको थियो भने सन् २०१६ मा यो संख्या बढेर ५२.७ प्रतिशत पुगेको छ।

त्यस्तै १५ देखि ४९ वर्षका महिलाहरूमा पनि रक्तअल्पता सन् २०१२ मा ३५ प्रतिशत थियो भने सन् २०१६ मा ४०.८ प्रतिशत पुगेको छ। यसको कारण पहिल्याउन स्वास्थ्य मन्त्रालयले हालै सम्पन्न गरेको नेपाल सूक्ष्म पोषकतत्व सर्वेक्षण, २०१७ को प्रतिवेदनमा ९८ प्रतिशत बालबालिकाले बाल भिटा खान नमानेको उल्लेख छ।

 बुझाइमा समस्या

“कुपोषणको अचूक उपचार पुरिया र चक्की होइन” बालरोग विशेषज्ञ डा. रमेशकान्त अधिकारी भन्छन्, “पोषण त नियमित प्रक्रिया हो।” घरमै पाक्ने जाउलो, खीर, रोटी, आलु, हरियो तरकारी, गेडागुडी नियमित ख्वाएर नै बालबालिकालाई स्वस्थ राख्न सकिने उनी बताउँछन्। दाल–भात–तरकारीमै पोषणतत्व पाइने हुँदा त्यसमै राखेर दिइने बाल भिटा को अर्थ नहुने जनस्वास्थ्यविज्ञ डा. उप्रेती बताउँछिन्।

नेपाल जस्तो अन्नबाली प्रशस्त भएको देशमा बाल भिटा जस्ता पाउडर भन्दा पनि स्थानीय खानेकुराको सदुपयोग गर्दा समस्याको दीर्घकालीन समाधान हुने पोषणविज्ञ सोफिया उप्रेती बताउँछिन्। भन्छिन्, “हामीसँग कुपोषणबाट बच्न विविध र पर्याप्त खाना छन्, कसरी खुवाउने भन्ने ज्ञान मात्रै नभएको हो।”

चार वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. मंगल रावल कर्णाली प्रदेश पोषण कार्यक्रमको निशानामा पर्दै आएको भए पनि गाउँघरमै उपलब्ध हुने कोदो, मकै, फापर, आलु लगायतका खानेकुरा नै बालबालिकाका लागि पर्याप्त हुने बताउँछन्। उनी भन्छन्, “पोषक सूक्ष्म तत्वको जरुरत नै छैन। खानामा घोलेर ख्वाउनुपर्ने बाल भिटा कोही यत्तिकै ख्वाइरहेका हुन्छन्। कोही पर्याप्त खानेकुरा हुँदाहुँदै पनि बाल भिटा कोच्याइरहेका हुन्छन्।”

एकातिर पोषिलो खानेकुराको अभावमा बालबालिका कुपोषित भएका छन् भने अर्कोतिर भएका खानेकुरा खुवाउन नजान्दा पनि कुपोषणको समस्या देखिएको डा. उप्रेती बताउँछिन्। विशेषगरी शहरी बालबालिकामा बजारमा पाइने पत्रु खाना (जंक फुड) ले गर्दा कुपोषण वा मोटोपन देखिन थालेको छ।

प्रतिकृया दिनुहोस