आरोप पुष्टि गर्न भारतलाई पाकिस्तानको चुनौती
पाकिस्तानले विवादास्पद कश्मीरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न भारतलाई चुनौती दिएको छ।
घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजन मार्फत मङ्गलबार (आज) गरेको सम्बोधनमा भारतलाई कश्मिर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएको हो।
साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उनले भारतले आफूहरुमाथि आक्रमण गरे आफूहरु पनि प्रतिकार गर्न तयार रहेको बताए।
गतहप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएको थियो। सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ।
पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू सङ्गठन जैस ए मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टी गर्न चुनौती दिएका छन्।
विनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारत पक्षलाई आग्रह गरेका छन्। उनले भने, “भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्ने छ र प्रतिकार पनि गर्नेछ।”
कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उनले पाकिस्तान आफैँ स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारेका छन्।
उनले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान पनि गरेका छन्। त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ।
सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले कश्मिर आफ्नो अधिनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्। कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधिनमा छ।
आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ। बिहीबारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ।
छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो। – एएफपी