डीपीएलः अत्तरिया शीर्षस्थानमा, काठमाडौंलाई बदलाको मौका
डीपीएलको मंगलबारको पहिलो चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सलाई सात विकेटले हराउँदै सीवाईसी अत्तरिया शीर्षस्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङमा आत्मविश्वासी देखिएको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले मात्र थोरै धैर्यता देखाए । उनले ३२ रन बनाए ।
योगन्द्रसिंह कार्कीले १३ र अंकित डबासले १० रन बनाउने बाहेक कुनै पनि ब्याट्समेनले दोहोरो अंकको रन बनाउन सकेनन् । पूरै ओभर ब्याटिङ गरेको काठमाडौं ७५ रनमा सिमित भयो ।
अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले व्यक्तिगत रुपमा प्रतियोगीताकै उत्कष्ट बलिङ गर्दै तीन विकेट लिए । रामनरेश गिरीले महत्वपूर्ण दुई विकेट लिए भने सन्नी पटेल र भुवन कार्कीले एक, एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको अत्तरियाका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ३३ रन बनाए । कप्तान ऐरीले ११ बलमै २० बल नटआउट बनाएपछि अत्तरियाले तीन ओभर बाँकी छदैं ७९ रन बनायो ।
काठमाडौंका ललितनारायण राजबंशी, सूर्य तामाङ, रसिद खानले एक, एक विकेट लिए ।
बुधबार प्रतियोगीताको क्वालिफायर राउण्डको पहिलो खेल अंकतालिकामा पहिलो र दोस्रो अत्तरिया र काठमाडौंबीच नै प्रतिस्पर्धा हुनेछ । दुई टोलीबाहेक रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेका छन् ।