पर्सा: पुनर्संरचनाको विरोधमा जिविसमा तालाबन्दी
पर्सामा ११ वटा स्थानीय तह सिफारिस गरिएको विरोधमा मधेश केन्द्रित दलहरुले जिल्ला विकास समिति, पर्सामा तालाबन्दी गरेका छन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मधेश केन्द्रित दलहरुको विरोधका बाबजुद ११ स्थानीय निकायको सिफरिस गरेको भन्दै त्यसको विरोधमा सदभावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानीको नेतृत्वमा रहेका मधेशी दलका नेता कार्यकर्ताहरुले जिल्ला विकास समितिको मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।
त्यसअघि उनीहरुले जिविस अगाडि टायर बालेर प्रदर्शन पनि गरेका थिए ।
समितिले गरेको सिफिरिस खारेज नगरिए अझ कडा आन्दोलनमा उत्रिने समानीले चेतावनी दिए ।
यसअघि पनि स्थानीय पुनर्संरचनाबारे पटक–पटक भएको छलफलमा मधेशी मोर्चाले असहमति जनाउँदै संविधान संसोधन मार्फत मोर्चाका माग पूरा नुहँदासम्म स्थानीय तहको पुनर्संरचना गर्न नदिने बताउँदै आएको थियो ।
स्थानीय विकास अधिकारी संयोजक रहेको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति पर्साले पर्सामा एका उपमहानगरपालिका, एक
नगरपालिका र ९ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तह बनाउने निर्णय गरी ५ मंसीरमा राष्ट्रिय पूर्नसंरचना आयोगमा सिफारिस गरेको छ ।
तर सिफारिसमा मधेशकेन्द्रित दल र सत्तारुढ नेपाली कांग्रेसले हस्ताक्षर गरेका छैनन् ।
प्राविधिक समितिका संयोजक एंव पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले धेरै दलको सहमतिले जिल्लामा ११ वटा स्थानीय तह बनाउने निर्णय गरेर सिफारिस गरिएको बताए ।
“जिल्लामा क्रियाशिल सबै दलहरु सहमतिमा आउनु पर्ने हो त्यसो हुन सकेन, तर त्यसो नभए पनि दलहरुका फरक मत समेत समावेश गरी केन्द्रमा प्रस्ताव पठाइएको छ,” उनले भने ।
सुरेश बिडारी, वीरगञ्ज