सोनू निगम नर्भिक अस्पताल भर्ना
भारतका विश्यात पाश्र्वगायक सोनू निगम मंगलबार दिउँसो काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका छन् ।
अचानक ढाँडमा पीडा महशुस भएपछि उनी अस्पताल पुगेका थिए । निगम एउटा गीतको छायांकनका लागि नेपाल आएको बताइएको छ ।
निगम स्वास्थ्यअवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका न्युरोलोजिष्ट डा.पंकज जलान र हाडजोर्नी विशेषज्ञ डा. प्रवीण नेपालले निगमको उपचार गरिरहेका छन् ।
अस्पतालका कर्पोरेट कम्युनिकेसन उप महाप्रबन्धक आरपी मैनालीका अनुसार, अहिले निगमको ढाडको एमआरआईको तयारी गरिँदैछ । “एमआरआईपछि मात्र समस्या के हो पत्ता लाग्नेछ र डिस्चार्जको समय थाहा हुनेछ”, मैनालीले भने ।
थुप्रै नेपाली गीतमा समेत स्वर दिएको निगमले लभ इन् नेपाल लगायत केही हिन्दी चलचित्रमा अभिनयसमेत गरेका छन् । बहुविधा र भाषाका गीत गाउनसक्ने ४५ वर्षीय निगमलाई ‘आधुनिक रफी’ पनि भनिन्छ ।