निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पुल
सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ ।
हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताए ।
चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल सुस्त गतिमा निर्माण भइरहेको थियो । सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन भण्डारीले पुल भत्केको विषयमा अध्ययन भइरहेको बताए ।
पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण भत्कन थालेको स्थानीयवासीको आरोप छ । विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालिले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
अहिलेसम्म आधा काम सिन नभएको सम्पन्न नभएको स्थानीयवासी रुद्रकुमार तामाङले बताए । सडक विभागको रु आठ करोड ७९ लाख २८ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको हो ।