प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनकाे तयारी : मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनकाे तयारी गरीरहेकाे बताएका छन् ।
प्यूठानको नयाँबजार जुम्रीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा २०४६/४७ को जनआन्दोलन पछि शिक्षामा व्यापारीकरण भएका भन्दै उनले त्यसको सुधारका लागि उच्चस्तरीय आयोग गठनको तयारी रहेको बताए ।
केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै उनले ऐन, नीति, नियम निर्माणका साथैे समाजवाद उन्मुख शिक्षा प्रणाली बनाइने बताए ।
मन्त्री पोखरेलले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिरहेको भन्दै शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।
शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवादउन्मुख शिक्षा नीति निर्माणका साथै ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसईई प्रदेश र १२ कक्षाको परीक्षा सङ्घीय सरकारले लिनेगरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको भनाइ थियो ।
उनले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने पनि बताए । यसअघि शिक्षामन्त्री पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन बनाएर सरकारलाई बुझाइसकेको छ । - रासस