इराक र यूएई लैजान लागेको १७९ नेपालीलाई उद्धार गरि नेपाल ल्याइयो
दलालले इराक र संयुक्त अरब इमिरेट्स (यूएई) लैजान लागेको १७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरीएका १४७ महिला र ३२ पुरुषलाई आज बिहान काँकडभिट्टाबाट नेपाल ल्याइएको हो ।
माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई नेपालका बसमा स्थानान्तरण गरी काठमाडौँ पठाइएको छ ।
उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्मारको बाटोहुँदै इराक र यूएई लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।
उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उनले उनीहरूलाई काठमाडौँमा पुनःस्थापनागृहमा राखिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए ।
‘उहाँहरु असाध्य थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु चार/पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ’, उपसचिव भुुसालले भने, ‘पुनःस्थापना गृहमा लगेर आराम गराउँछौँ र उहाँहरुलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्छौं ।’
ती नेपालीलाई इराक र यूएई लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए ।
उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको थियो । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ उपस्थित भएका थिए ।
उद्धार गरिएका नेपालीलाई सीपमूलक तालीम प्रदान गरेर उचित रोजगारीको अवसर प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइने अध्यक्ष खड्काले बताए । - रासस