एकतासभामा कमल थापाले भने– ‘राजतन्त्रको लाइन छाडेका छैनौं’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले राजतन्त्रको लाइन नछाडेको बताएका छन् ।
राप्रपा र राप्रपा नेपालको एकीकरणपछि बनेको राप्रपाको ६ मंसीरमा राजधानीमा आयोजित एकतासभामा थापाले नयाँ पार्टीको लाइन अब राजतन्त्र हुने कि गणतन्त्र भन्ने निर्णय नयाँ महाधिवेशनबाट तय गरिने बताए ।
एकीकृत पार्टीको नेतृत्व गर्ने अवसर पाएका थापाले एकता सभामा भने, “राप्रपाले गणतन्त्र स्वीकार गरेको छ, राप्रपा नेपालले राजतन्त्र भन्दै आएको छ । अब यो बहस पार्टीको तल्लो तहसम्म पुग्नेछ र महाधिवेशनबाट पार्टीले उपयुक्त निर्णय गर्नेछ ।”
एकीकरण कसैविरुद्ध लक्षित नभएको जिकिर गर्दै उनले एकीकृत पार्टीले नेपालको संविधान २०७२ प्रति आस्था राख्ने र संविधानकै माध्यमबाट सबै कुरा हल गर्दै जाने प्रतिबद्धता जनाए ।
“हाम्रा केही मान्यता समावेश नभए पनि यो संविधानले विश्वका कतिपय मान्यता अंगीकार गरेको छ, समावेशी र समानुपातिक प्रतिनिधित्वको हिसाबले यो अत्यन्तै अग्रगामी र प्रगतिशील संविधान हो” उनले भने, “संविधान कार्यान्वयनमा राप्रपाले सकारात्मक र रचनात्मक सहयोग गर्नेछ ।”
निर्धारित मितिमा तीन तहकै निर्वाचन नभए संविधान धरापमा पर्ने उल्लेख गर्दै उनले त्यसका लागि मधेशका मुद्दा पहिले समाधान हुनुपर्ने बताए ।
एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष बनेका पशुपति शमशेर जबराले मुलुक अब धर्मनिरपेक्ष बन्नै नसक्ने र ८१ प्रतिशतभन्दा बढी हिन्दु भएको मुुलुकमा धर्मनिरपेक्षता सहन पनि नसक्ने बताए ।
“जबर्जस्ती धर्मनिरपेक्षता लाद्नेहरुलाई म चुनौति दिन चाहन्छु, सक्छौ भने जनमतसंग्रह गर” उनले भने, “हैन भने यो मुलुकमा हिन्दुवादीहरु धर्म युद्धमा उत्रन तयार भएका छन् । त्यो अभियानलाई राप्रपाले नेतृत्व गर्नेछ ।”