मलेसियाविरुद्ध नेपालको सहज जीत
थाइल्याण्डको बैंककमा जारी आइसीसी वुमन्स् टि–ट्वेन्टी वल्र्डको एसियाली छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले ४२ र कप्तान रुबिना क्षेत्री बेलबासीले नटआउट ३३ रन बनाइन् ।
ओपनर काजल श्रेष्ठ १६ र इन्दु बर्मा १३ रनमै आउट भएका थिए भने नेरी थापा र ममता चौधरी रन आउटको ‘दुर्भाग्य’को शिकार भएका थिए ।
मलेसियाका लागि कप्तान विनिफ्रेद दुरैसिंघम, साशा आज्मी, जुमिका आज्मीले समान एक, एक विकेट लिए ।
१२७ रनको विजयी लक्ष्य लिएर मैदान ओर्लिएको मलेसिया क्रिस्टिना बारेतले सर्वाधिक २१ रन बनाइन् । दुरैसिंघमले १८ र साशाले १६ रन जोडिन । बाँकी ब्याट्सवुमन नेपाली बलरसामु निरीह बने ।
नेपालका सरिता मगर र करुणा भण्डारीले दुई, दुई र कविता कुँवर र सीता रानामगरले एक, एक विकेट लिए । सीता नै ‘प्लेअर अफ द म्याच’ घोषित भइन् ।
नेपालले बिहीबार आयोजक थाइल्याण्डको सामना गर्नेछ । प्रतियोगीतामा सात देश सहभागी छन् ।