विदेश जानेको औँठाछाप प्रमाणित अब प्रहरी प्रधान कार्यालयबाटै
विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ ।
यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयले गर्न थालेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।
त्यसका लागि प्रहरी प्रधान कार्यालयको सिफारिश लिएर विधिविज्ञान प्रयोगशाला जानुपर्ने झन्झटिलो अवस्था थियो । अहिले त्यो झन्झट हटाएर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।
सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताए ।
दैनिक ४/५ जना व्यक्ति औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय पुग्ने गरेको प्रहरीको तथ्यांक छ । – रासस