ढुवानी मजदुरको काम गरेर जीविका चलाउँछन एकल महिला
घरको आर्थिक अवस्था कमजोर भएपछि कञ्चनपुरका एकल तथा विपन्न महिलाले ढुवानी मजदुरको काम गरेर जीविका चलाउन थालेका छन् ।
भारतीय बजार वनबासाबाट उनीहरुले साइकलमा दिनहुँ डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर करीब २० किलोमिटर टाढाको भीमदत्तनगर पु¥याउने गरेका छन् ।
सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक रु २०० देखि ४०० सम्म आम्दानी हुने गरेको छ ।आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ । कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताइन् ।
‘सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो’, रानाले भनिन्, ‘तर कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”
घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको भीमदत्तनगर–२ की अम्बरा बुढाथोकी बताउँछिन् ।
विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उनले सामान ढुवानी गर्दै आएको दुःखेसो पोखिन् । कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन् । – रासस